अपडेटः नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

अपडेटः नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो। उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी गराएका छन् । डा. देवकोटाका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।

दुबईबाट आएका उनी ३४ वर्षका छन्।हाल उनको अवस्था सामान्य छ। शुक्रवार साँझ मन्त्रालयमा आकस्मिक ब्रिफिङ गर्दै उनले धनगढीमा रहेका एक व्यक्तिमा कोरोना रहेको परीक्षणबाट पुष्टि भएको जानकारी दिए ।सङ्क्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहेको देवकोटाले बताए।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो।

तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो।

नेपालमा कोरोनाबाट संक्रमतिको संख्या चार पुगेको छ। यसअघि चीन, फ्रान्स र कतारबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट आएका विद्यार्थी भने उपचारपछि घर फर्किसकेका छन् भने अन्य दुई जना आइसोलेसनमा छन्।  त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

सरकारले कोरोना परीक्षण गर्ने किट र पीपीई प्रशस्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अहिले केही दिनलाई पुग्‍ने रिएजेन्ट किट र पीपीई पनि रहेको बताएका छन् ।

कोरोना फैलन नदिन काठमाडौंमा ६ वटा हब अस्पताल तोकेको र ती अस्पतालमा पीपीई पठाएको उनले बताए । यीबाहेक अन्य ७८ अस्पताल पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

मन्त्रालयले कोरोना संक्रमित दुई जनाको सम्पर्कमा आएका सवैको स्वास्थ्य परिक्षण गरिएको र कोरोना नभएको जानकारी दिए । यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले बेलुका सामान खरिद गर्दा सर्वसाधारणले एक मिटरको दूरीमा बस्‍नुपर्ने बताए ।