ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

-सञ्चिता घिमिरे-

काठमाडौँ, १४ चैत । गत सातासम्म प्रतिकिलो रु ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य रु १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात रु १५ पुगेको छ ।

यो अवधिमा सागको मूल्य प्रतिमुठा रु पाँचबाट बढेर रु १५ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो रु ३०० पुगेको छ भने केराको मूल्य रु १०० बाट बढेर रु २०० पुगेको छ ।

सरकारले गरेको ‘लकडाउन’ को चौथो दिनसम्म आइपुग्दा बजार केही खुल्न थाले पनि तरकारी, फलफूललगायका आवश्यक खाद्य सामग्रीको मूल्य ह्वात्तै बढेको छ । ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सकेसम्म घर बाहिर ननिस्कन र आवश्यक सामग्री किन्नु परे नजिकैका पसलमा खरिद गर्न आमनागरिकलाई भनिरहेको छ । तर नजिकको पसल अझै नखुलेकाले केही टाढासम्म पुग्नुपरेको कोटेश्वरकी नम्रता शर्माले बताउनुभयो ।

सरकारले स्टक नराख्न भने पनि उहाँले खाद्यान्न केही महिनालाई पुग्ने राख्नुभएको थियो । तरकारी, फलफूल र दूध किन्न दैनिकजसो बाहिर निस्कनु परेको उहाँले बताउनुभयो । थोरै पसल मात्रै खुलेकाले पनि पसलले चर्को मूल्य लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुनै कुनै पसल मात्रै खुलेका छन् जति भन्छन् त्यति तिनु हाम्रो बाध्यता हो ।”

काठमाडौँ उपत्यकाका आसपासका क्षेत्रले शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा यातायातका साधन नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैन । खाद्य वस्तु बजारसम्म पु¥याउन नपाउँदा दूध र तरकारी त्यसै खेर गइरहेको उनीहरुको गुनासो छ । बजारमा अहिले पनि कतिपयले सङ्कटलाई कमाउने अवसरका रुपमा लिन थालेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमिल्सनाले बताउनुभयो ।

बजारमा अहिले कृत्रिम अभाव सिर्जना गर्ने, सामान मूल्यभन्दा बढीमा बिक्री गर्ने त कतिले अवधि सकिन लागेको खाद्यसामग्रीको बिक्री गरिरहेको पाइन्छ । तरकारी र फलफूल ‘लकडाउन’ पहिलेभन्दा अहिले दोब्बरदेखि तेब्बर मूल्यमा बिक्री हुँदासमेत अनुगमन हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनता घरभित्रै थुनिएकाले राज्यले आफ्नो उपस्थिति बढाएर सबैलाई राहत दिनुपर्छ ।”

धेरै ठाउँमा आफ्नो घर नजिकका पसल नखुलेकाले उपभोक्ता टाढाटाढासम्म जान बाध्य भइरहेको घिमिरेले बताउनुभयो । घर र पसल नजिकै भएका पसलेले सरकारले तोकेको समयमा खोले पनि टाढाबाट आउनुपर्नेले सवारी साधन नहुँदा खोलेका छैनन् । काँठ क्षेत्रबाट मोटरसाइकलमै राखेर दूध, तरकारीलगायत ढुवानी हुने गरेकामा ‘लकडाउन’ का कारण त्यो ठप्प छ । शहरी क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, मजदुर, चालक, सहचालकलगायत दैनिक ज्यालादारी गर्नेहरु मारमा परिरहेको उहाँले बताउनुभयो ।

सरकारले गरिब परिचयपत्र वा रासनकार्डको अहिलेसम्म व्यवस्था नगर्दा लक्षित वर्गमा चाहँदा पनि सहुलियत दिन कठिन हुने उहाँको भनाइ छ । बजारमा अहिले सबैभन्दा अभाव ग्यासको रहेको छ । उहाँले भन्नुभयो, “सरकारले महिनौँसम्म पुग्ने ग्यास छ भनेकाले कतिपयले हतारिएर किनेनन् तर अहिले समस्या परिरहेको छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक दीपक पोखरेलले सरकारले ‘लकडाउन’ घोषणा गर्नुभन्दा केही दिन पहिलेबाट तरकारी र फलफूलको मूल्य बढ्न थालेको बताउनुभयो । बजारमा तरकारी तथा फलफूलको आयात नै कम भएको उहाँले बताउनुभयो । देशभित्रै पनि उपत्यका र उपत्यका बाहिरबाट खाद्यान्न ल्याउनका लागि यातायातको असुविधा रहेको उहाँले बताउनुभयो । आफूले कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा सम्पर्क गर्दा त्यहाँ दैनिक तरकारी र फलफूलको आयात कम रहेको जानकारी पाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट मात्रै होइन नजिकका स्थानबाट पनि यी खाद्यान्न ल्याउन सवारी साधनको समस्या देखिएको छ ।”

विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको छ । यो टेलिफोनमा सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको भनी गुनासो आएका छन् । त्यससँगै तरकारी, फलफूलको अभाव र मूल्यसम्बन्धी गुनासो पनि आउन थालेको उहाँले बताउनुभयो । रासस