नेपाल भोलिदेखि पूर्णरुपमा लक डाउन, घर बाहिर निस्कन पनि नपाइने, निस्किए १ महिना कैद

नेपाल भोलिदेखि पूर्णरुपमा लक डाउन, घर बाहिर निस्कन पनि नपाइने, निस्किए १ महिना कैद

काठमाडौं, १० चैत । नेपाल सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) देखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

खतिवडाकाअनुसार बैठकले मंगलबारदेखि एक साताका लागि कसैलाई पनि घर बाहिर निस्कन र सवारी पनि चल्न नदिने निर्णय गरेको छ । उहाँका अनुसार लक डाउन मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुनेछ। यस्तै, बैठकले औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन पनि निर्देशन दिएको छ।

बैठकले अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारीसाधन सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी, सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो । बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ लाई स्वीकृत पनि गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी काम नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी सुरु गर्ने निर्णय पनि गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्नेछन्।

हेर्नुहोस् निर्णयहरू :

१. औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर ननिस्किने ।

२‍. अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरू बन्द गर्ने ।

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरूलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्य वस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकताअनुसार प्रयोग गर्ने ।

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने ।

हेर्नुहोस् निर्णयको पूर्णपाठः