कोरोना भाइरसले इटलीमा स्थिति नाजुक, एकै दिनमा ७ सय ९३ को मृत्यु

कोरोना भाइरसले इटलीमा स्थिति नाजुक, एकै दिनमा ७ सय ९३ को मृत्यु

काठमाडौं,९ चैत । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला इटलीमा आतंक मच्चाइरहेको छ । चीनको वुहानबाट शुरु भएको भाइरस चीनपछि टार्गेट बनाएको इटलीमा स्थिति झनै भयावह बनेको हो ।

शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इटलीको लोम्बार्डी कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ अहिलेसम्म ३ हजार ९५ मानिसको ज्यान गइसकेको छ । स्थिति भयावह बनेपछि इटली सरकारले त्यहाँ थप कडाइका उपायहरू अघि सारेको छ ।

शनिबार अबेर राति जारी गरिएको नयाँ नियमानुसार, सबै किसिमका खेल तथा शारीरिक गतिविधिमा रोक लगाइएको छ । भेन्डिङ मेसिनको प्रयोगमा पनि निषेध गरिएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नहुँदा स्थिति भयावह बनेको बताएको छ ।

एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ । सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ । अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन् । यस्तै स्पेनमा शनिबार एकैदिन दुई सय ८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ७८ पुगेको छ । इरानमा पनि एकैदिन एक सय २३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा एक सय १२ जना, बेलायतमा ५६ र अमेरिकामा ६८ जनाले ज्यान गुमाएका छन् । विश्वका एक सय ८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६ सय १४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ हजार २५ पुगेको छ ।