बेलायतमा कोरोना भाइरसबाट लिलाबहादुर राईको मृत्यु

बेलायतमा कोरोना भाइरसबाट  लिलाबहादुर राईको मृत्यु

काठमाडौं, ८ चैत । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको खबर छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको हो । पुर्खौली घर सङ्खुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तरपश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएको खुल्न आएको छ ।

उनको मृत्यु गत चैत ४ गते बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको बताइएको छ । लिलाबहादुर ब्रिटिस–गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा बेलायत बसाई सरेका थिए ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्‍याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए । मृत्युको कारण कोभिड–१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतीसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको खबर छ ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका राईकाे गत मंगलबार नै मृत्यु भएको पत्रकार ददि सापकोटाको फेसबूकमा उल्लेख छ।