भोलीदेखि लामो दुरीका यातायात बन्द गरिने

भोलीदेखि लामो दुरीका यातायात बन्द गरिने

काठमाडौं, ८ चैत । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालमा आउन नदिन सरकारले अन्तर्राष्ट्रिय उडान, अवतरण बन्द गर्नेदेखि लामो दुरीका सार्वजनिक यातायात सेवा बन्द गर्नेसम्मका घोषणा गरेको छ ।

हिजो साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तयार पारेका योजना अनुसार कोभिड १९ बिरुद्ध एकजुट हुन नागरिकलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा हिजो गरेको सम्बोधनअनुसारका कामलाई कार्यान्वयन गर्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले मानिसहरुको आवागमनबाटै कोरोना भाइरस सर्ने डर हुने भएकाले लामो दूरीको सवारी साधन र हवाई सेवा रोक्ने निर्णय गरेको स्पष्ट पारेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले आपूर्ति व्यवस्था र ढुवानीलाई यसले कुनै असर नपुर्‍याउने जानकारी पनि दिनुभयो ।

उहाँले बैँकहरु बन्द नहुने जानकारी पनि गराउनुभयो । साथै अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिसकेको अवस्थामा केही व्यक्ति अप्ठ्यारोमा परेको उल्लेख गर्दै उनीहरुलाई स्थानीय दूतावासको सहयोगमा सुरक्षित ढंगले उद्धार गरेर क्वारेन्टाइनमा राख्ने जानकारी दिनुभयो । सरकारले कोरोनाको सङक्रमण नदेखिए पनि अत्यावश्यक सेवा र सार्वजनिक यातायातका साधन केही समयका लागि रोक्ने घोषणा गरेको छ ।