कोरोनाका कारण खाद्यान्न संकट हुदैन, आत्तिनुपर्ने अवस्था छैन : मन्त्री भट्ट

कोरोनाका कारण खाद्यान्न संकट हुदैन, आत्तिनुपर्ने अवस्था छैन : मन्त्री भट्ट

काठमाडौँ, ६ चैत। सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । व्यापार, वित्त, उद्योग, निर्माण क्षेत्र स्वभाविक रूपमा अगाडि बढिरहेको उहाले बताउनुभयो । पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै रहेको भन्दै उहाले त्यसको अर्थतन्त्रमा प्रभाव पनि सोही अनुसार मात्रै पर्ने पनि बताउनुभयो । स्वास्थ्यका कारण चिनियाँ नाकाबाट आयात नभए पनि भारततर्फको नाकाबाट आयात भईरहेको भन्दै खाद्यान्न लगायतका सामाग्रीको अभाव नहुने पनि उहाले जनाउनुभयो ।

मन्त्री खतिवडाले सरकारले तत्कालिन विश्व परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै दुई छिमेकी मुलुकको अवस्थालाई पनि हेरिरहेको बताउनुभयो । होटलमा कार्यरत कर्मचारी केही प्रभावित हुने भएपनि उनीहरूको सामाजिक सुरक्षासमेत रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको पनि उहाले बताउनुभयो । त्यस्तै मन्त्री खतिवडाले सबैको आग्रहमा एसईई सारिएको जानकारी दिनुभयो । उहाले विद्यार्थीलाई जोखिममा नराख्न अभिभावकसहितको आग्रहमा शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी पछाडि पारिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावशेक बस्तुको अभाव नहुने भन्दै अहिले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । साल्ट ट्रेडिङसँग मात्रै अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात रहेको उहाले बताउनुभयो । सरकारले नै सहुलियत पसल संचालनमा ल्याउने भएकाले उपभोक्तालाई कुनै पनि सामानको अभाव हुन नदिने उहाले जानकारी दिनुभयो ।

त्यस्तै केही दिनमा खाना पकाउने ग्यास पनि सहज हुने उहाले बताउनुभयो । आफूले यसअघि कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको बताउँदै मन्त्री भट्टले फलफूल, तरकारीको नियमित आपूर्ति रहेको धारणा राख्नुभयो ।