काठमाडौँ, ५ चैत ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को सङ्क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय भएको जनाउनुभएको छ ।
विश्वस्वास्थ्य सङ्गठनको विश्वव्यापी मूल्याङ्कन र नेपालको स्थितिलाई हेरेर परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उहाँले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको उल्लेख गर्नुभयो ।
यसैबीच सरकारको निर्देशनका आधारमा आफ्ना पूर्वनिर्धारित परीक्षा स्थगन गर्नेबारेमा परीक्षा नियन्त्रण कार्यालयको बैठक बसेर बिहीबार निर्णय सार्वजनिक गरिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।