कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

न्यूयोर्क ,५ चैत ।कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ ।

जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने छ हजार नाघेको छ । अधिकारीहरुका अनुसार पछिल्लो सात घण्टामा झण्डै एक हजार बिरामी बढेर कूल बिरामीको सङ्ख्या छ हजार २३२ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको कुन सङ्ख्या १०५ पुगेको अधिकारीहरुले जानाकारी दिएका छन् ।

अष्ट्रेलियामा छैठौ व्यक्तिको मृत्यु भएको छ । स्वाथ्यकर्मीले बुधबार दिएको जानकारीअनुसार ८६ वर्षीय एक पुरुषको मृत्युभएको हो । उनको सिड्नी अस्पतालमा मङ्गलबार राति मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुले मृतकका परिवारजनप्रति समवेदना पनि व्यक्ति गरेका छन् । अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या ५०० नाघेको छ भने, दैनिक रुपमा सयाँै व्यक्तिको स्वास्थ्य परीक्षण भइरहेको छ ।

जापानमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ८६८ पुगेको छ । बुधबार बिहानसम्मको विवरणअनुसार कूल ३६ जनाको मृत्यु भएको छ ।

भारतमा दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएर बुधबारसम्म १४७ पुगेको छ । अघिल्लो दिनभन्दा बुधबार कूल सङ्ख्यामा दश जना थपिएका हुन् । भारतका हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण तीन व्यक्तिको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये १२२ जना स्वदेशी र अन्य बिरामी विदेशी भएको भारतको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतको विषेशगरी महाराष्ट्रमा सबैभन्दा धेरै बिरामी भेटिएका छन् भने केरला, उत्तर प्रदेश र कर्नाटकमा पनि कोरोना भाइरसबाट सङ्क्रमित बिरामी रहेका छन् । इजरायलमा थप नब्बेजना सङ्क्रमित थपिएका छन्, यो सँगै सङ्क्रमितको सङ्ख्या ४२७ पुगेको अधिकारीले जनाएका छन् ।

कोरोना भाइरसका कारण भियतनाममा कूल ६८ जना बिरामी भएका छन् । रासस/सिन्ह्वा