नाङ्गो खुट्टाले दौडिदा…

  • 67
    Shares
नाङ्गो खुट्टाले दौडिदा…

– विक्रम गिरी

काठमाडौँ, १ चैत । खेल पदाधिकारीले १० किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके । खेलाडी तम्तयार भएर मैदानमा उत्रिए । त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन् । त्यहाँ सबैका आँखा ती फुच्चीको खुट्टातर्फ सोझिए । उनी दौडका लागि नाङ्गो खुट्टामा आएकी थिइन् । कारण उनीसित जुत्ता थिएन । यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले । दौड शुरु भयो । नाङ्गै खुट्टाको भरमा दगुरेकी ती नानी तेस्रो भइन् । उनीभन्दा अब्बल प्रहरी र सेनाका खेलाडी मात्र निस्के । बैकुण्ठले उनलाई पिठयुँमा धाप मार्दै बधाई दिए ।

विसं २०६८ फागुन तेस्रो साता सुदूरपश्चिमको धनगढीस्थित रङ्गशालाको दृश्य थियो त्यो । छैटौँ राष्टिय खृलकूद प्रतियोगिता चलिरहेको थियो । ती फुच्ची थिइन दार्चुलाकी सकुन्तला ठगुन्ना । त्यतिबेला छ कक्षामा पढ्दै गरेकी उनको उमेर मात्र १२ वर्षको थियो । सो प्रतियोगितामा पदक जित्ने उनी देशकै कान्छी खेलाडी बनिन् । सकुन्तलाको रहर भलिबल खेलाडी बन्ने थियो । गाउँमा सहजै खेल्न सकिने भलिबल । खासै लगानी पनि नचाहिने । त्यसैले तीन कक्षा पढ्दादेखि नै उनले भलिबल खेल्न थालिन । त्यो पनि पुरुष खेलाडीको टोलीमा संलग्न भएर । किनभने महिला मात्र खेल्न खेलाडी जुटाउन मुश्किल पथ्र्यो ।

विसं २०६८ मा पहिलोपटक सकुन्तलाले जिल्लास्तरीय प्रतियोगितामा भाग लिइन् । भलिबल खेल्न दार्चुला सदरमुकाम खलङ्गा झरेकी उनलाई एक हजार ५०० मिटर र तीन किलोमिटर दौडमा समेत सामेल गराइयो । ख्यालख्यालमै दगुरेकी उनी एक हजार ५०० मिटर दौडमा पहिलो तथा तीन किलोमिटरमा दोस्रो भइन् । त्यसपछि उनको ध्यान एथलेटिक्सतर्फ मोडियो । त्यही वर्ष क्षेत्रीय प्रतियोगितामा पनि सकुन्तलाले नौ जिल्लाका खेलाडीलाई उछिन्दै छैटौँँ राष्टिय खेलकूद प्रतियोगिताका लागि छनोट भइन् । जिल्ला र क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनी सुदूरपश्चिममा आयोजना भएको छैटौँ राष्टिय खेलकूद प्रतियोगिताका लागि छनोट भएकी थिइन् । १० किलोमिटर दौडमा तेस्रो हुँदै सकुन्तला एथलेटिक्समा उदाइन् ।

पहिलोपटकमै पदक जित्दै उनले आफूलाई अब्बल सावित गरिन् । सकुन्तलासित जुत्ता किन्न पैसा थिएन । गाउँघर र भिरपाखामा लगाउने गोल्डस्टार जुत्ताले दगुर्न सहज हुन्नथ्यो । त्यसैले उनी नाङ्गो खुट्टाको भरमा दगुरेकी थिइन् धनगढीमा । “नयाँ जुत्ता किन्न पैसा थिएन, जुत्ता किनिदिने कोही भेटिएनन्, त्यसैले नाङ्गै खुट्टा दगुरेकी हुँ”, हाल प्रशिक्षणका क्रममा काठमाडौँमा रहेकी सकुन्तलाले विगत सम्झिँदै भनिन्, “जिल्ला र क्षेत्रीय प्रतियोगितामा पनि त्यसैगरी दगुरेकी थिएँ ।” पछिल्लो समय भने उनी जुत्ता लगाएरै दगुर्ने गरेकी छिन् । विभिन्न ठाउँमा पुरस्कार जितेपछि उनले सहज हुने किसिमको जुत्ता किनेकी हुन् ।

छैटौँ राष्ट्रिय प्रतियोगितापछि उनी दार्चुला फर्किइन् । गाउँ फर्केपछि सकुन्तला घाँसदाउरा र मेलापातमै अल्झिइन् । प्रतियोगिता हुन्नथ्यो । गाउँमा न त दगुर्न ठाउँ थियो न अभ्यासको वातावरण नै । यस्तोमा चाहेर मात्र पनि उनको धाविका बन्ने धोको पूरा हुने स्थिति थिएन । यसबीचमा उनले विसं २०७२ मा गाउँकै जनहित माविबाट एसइई परीक्षा उत्तीर्ण गरिन् । बाबुआमाले खेल्न होइन, जागिर खान सहज हुने पढाइ थाल्न दबाब दिए । जेटिए पढ्न गाउँदेखिको टाढा रिठाचौपता गइन् । जहाँ उनले डेरा गरेर २९ महिनाको पढाइ पूरा गरिन् । पढाइ सकेर गाउँकै नौगाड गाउँपालिकामा अस्थायी जागिर शुरु गरिन् । “घरको अवस्था एकदमै कमजोर भएकाले जागिर खानुपरेको हो”, घरको अवस्था सम्झिँदै उनले भनिन्, “खेल त चटक्क छाडे ।”

बेलाबेलामा उनले आफू खेलमा फर्किन चाहेको कुरा साथीसङ्गी तथा आफन्तलाई सुनाउने गर्थिन् । गाउँमै बसेर पहिलाजस्तै खेलमा फर्किन सम्भव थिएन । उनले गाउँ छाड्नुपर्ने थियो । तर गाउँ छाडेर कहाँ जाने ? सकुन्तलासित कुनै विकल्प थिएन । उनका अघिल्तिर कमजोर आर्थिक अवस्था तगारो बनेको थियो । यस्तैमा तीन महिनाअघि साथी तथा आफन्त धिरज विष्टले सकुन्तला खेलमा फर्किन चाहेको कुरा फेसबुकमा स्टाटसमार्फत सार्वजनिक गरे । धिरजले सकुन्तलाका बारेमा लामो स्टाटस लेखे । यसरी खेल जीवनमा फर्किन खोजेको कुरा सामाजिक सञ्जालमा आएपछि देश तथा विदेशमा रहेका आफन्त र अन्यले सकुन्तलालाई सहयोगको आश्वासन दिए ।

“सामाजिक सञ्जालमार्फत धेरैले सहयोगको बचन दिए, मलाई त्यो सब आश्वासन मात्र लाग्यो”, सकुन्तला भन्छिन् । यसरी सहयोग गर्न चाहनेमध्ये एक थिए काठमाडौँमा बस्दै आएका दार्चुलाकै प्रेमसिंह धामी । उनैले सकुन्तलालाई काठमाडौँ बोलाए । धामीको आग्रह सकुन्तलाले सितिमिति मानिनन् । धेरै करकाप गरेपछि उनी गत पुस दोस्रो सातातिर राजधानी आएकी हुन् । धामीले प्रशिक्षणका लागि सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा चाँजोपाँजो मिलाइदिए । यसबीचमा उनले सकुन्तलालाई कीर्तिमानी धावक बैकुण्ठसित फोनमा कुराकानीसमेत गराइदिए । “बैकुण्ठ गुरुसितको कुराकानीले पनि खेल्न उत्साहित भए”, उनले भनिन् । अहिले राजधानीमै रहेका आफन्तजनले बस्ने खाने चाँजोपाँजो मिलाइदिएका छन् । तर, यसरी सधैँभरि सम्भव नहुने उनको बुझाइ छ ।

“खेलेर केही हुन्न, जागिर खाउँ”, सकुन्तलालाई बाआमाको यही सल्लाह छ । उनी भने दगुरेरै देशका लागि पदक जित्न चाहन्छिन् । बाबुआमाले चाहेर पनि उनलाई आर्थिक सहयोग गर्न सक्ने स्थिति छैन । पाखोमा फलेको अन्न मुस्किलले तीन महिना पुग्छ । “हातमुख जोर्नकै समस्या छ, कसरी सहयोग माग्नु”, सकुन्तलाले घरको अवस्था सम्झिन पुगिन् । काठमाडौँमै बसेर खेललाई निरन्तरता दिन चाहन्छिन् सकुन्तला । तर उनले चाहेजस्तो सहज भने छैन । उनी सहयोगीको खोजीमा छिन् । सशस्त्र प्रहरी बलले अभ्यासका लागि खेल मैदान र प्रशिक्षक मात्र उपलब्ध गराइदिएको हो । अरु सहयोग उनलाई एपिएफको केही पनि छैन । “बस्ने खाने सुविधा पाए त खेलमै राम्रो गर्न सक्थे”, उनले पीडा सुनाइन् ।

अढाइ महिनामा सकुन्तलाले छ वटा लामो दौडमा भाग लिएकी छिन् । ती सबैमा उनी पहिलो र दोस्रो भइन् । त्यहाँबाट पाएको पुरस्कार रकमले पनि बस्न खान केही हदसम्म मद्दत मिलेको उनले बताइन् । उनका दुई भाइ र तीन दिदीबहिनी पनि खेलमा उत्कष्ट छन् । सबै जनाले जिल्ला र क्षेत्रीयस्तरको प्रतियोगितामा एथलेटिक्स र भलिबलमा पदक जितेका छन् । उनीहरू सबै गाउँमै छन् ।

गत पुस १२ गतेदेखि उनले हलचोकमा नियमित प्रशिक्षण थालेकी हुन् । यसबीचमा सकुन्तलाले चितवनमा भएको १५ किलोमिटर दौडमा पहिलोपटक भाग लिइन् । उनी सो दौडमा २५० जनालाई उछिन्दै पहिलो भइन् र रु पाँच हजार पुरस्कार प्राप्त गरिन् । तर, दुर्भाग्य उक्त दौडमा उनी खुट्टा मर्केर घाइते भइन् । “चितवन जाने कि नजाने दोमन भएको थियो”, उनले भनिन्, “आठ वर्षदेखि कुनै प्रतियोगिता खेलेकी थिइन्, न त कुनै अभ्यास गरेकी थिएँ ।” राम्रो दगुरे एथलेटिक्समा कमब्याक गर्न सकिन्छ कि भनेर चितवन गएको उनी बताउँछिन् । नभन्दै त्यही प्रतियोगिताले सकुन्तलालाई एथलेटिक्समा फर्किने अवसर जुरायो । सेना दिवसको अवसरमा भएको १० किलोमिटर दौडमा उनी दोस्रो भइन् ।

यस्तै वीरगञ्जमा सम्पन्न १० किलोमिटर दौडमा पहिलो, भक्तपुरमा भएको नगरस्तरीय १० किलोमिटर दौडमा पहलो तथा २१ किलोमिटरको हाफ म्याराथनमा दोस्रो भइन् उनी । केही दिनअघि काठमाडौँमा सम्पन्न मदन भण्डारी रेसमा पनि सकुन्तला पाँच किलोमिटर दौडमा दोस्रो भइन् । यी सबै प्रतियोगिता उनले खुट्टाको चोट बोकेकै अवस्थामा खेलेकी हुन् । “चिकित्सकले तीन महिना आराम गर्न भनेका छन्”, उनले भनिन्, “म चोटिल अवस्थामै दगुर्दै आएकी छु ।” दगुर्न नछाडे चिकित्सकले मकहाँ उपचार गर्न नआउनु भनेको कुराले उनको मन झस्किरहन्छ । अब उपचारका लागि अर्को चिकित्सककहाँ जाने सकुन्तलाले मन बनाएकी छिन् ।

उनी हाल बिहान चार घण्टा हलचोकमा नियमित अभ्यास गर्छिन् । उनको एउटै उद्देश्य छ उत्कृष्ट धाविका बन्ने । यसका लागि उनी काठमाडौँका हरेक अप्ठ्यारा र चुनौतीको सामना गर्न तयार छिन् । उनलाई काठमाडौँको भीडभाड मन पर्दैन । न त यहाँको वातावण नै । दार्चुलाको दुर्गम गाउँमा शान्त वातावरणमा हुर्केकी सकुन्तला सबैभन्दा बढी त्रसित काठमाडौँको भीडबाट हुन्छिन् । “पैदल हिँड्दा सयौँसित ठोक्किनु पर्छ, बस र माइक्रोमा यात्रा गर्दा जीउ नै कच्याककुचुक हुन्छ”, राजधानीमा दिनहुँ यात्रा गर्दाको पीडा सुनाइन् । त्यसैले हलचोक नजिकै डेरा सर्ने उनले मन बनाएकी छिन् । तर मन बनाएर मात्र पुग्दैन । सबै थोकका लागि काठमाडौँमा पैसो चाहिन्छ । सकुन्तलाको गोजी भने रित्तो छ । प्रतियोगितामा भाग लिने, पुरस्कार जितेको रकमले जेनतेन कोठा भाडा तिर्ने तथा खाने खर्च जुटाउने योजना छ सकुन्तलाको । “अब्बल धाविका बन्छु, नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउँछु”, कोटेश्वरको व्यस्त चोकमा हलचोकका लागि बस चढ्नुअघि सकुन्तलाले भनिन् । रासस