कोरोनाका कारण भारतमा एकको मृत्यु, क्यानडेली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना

कोरोनाका कारण भारतमा एकको मृत्यु, क्यानडेली प्रधानमन्त्रीकी श्रीमतीलाई पनि कोरोना

एजेन्सी, ३० फागुन । भारतमा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले वनाएका छन् । इकोनोमिक टाइम्सका अनुसार कोरोनाबाट कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार निधन भएको हो। कोरोनाका कारण मृत्यु पुष्टि भएको भारतमा यो नै पहिलो घटना हो।

कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा. सुरेश शास्त्रीका अनुसार मृतक व्यक्ति तेलांगनाको निजी अस्पतालमा भर्ना भएका थिए। तेलांगना सरकारले पनि उनमा कोरोना भएको पुष्टि गरेको छ। भारतमा ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीलाई १४ दिने आइसोलेशनमा राखिएको छ । क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् । प्रधानमन्त्री ट्रुडोलाई भने कोरोना देखिएको छैन । ‘सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नु भएको छैन,’ त्यहाँका प्रधानमन्त्रीका सञ्चार निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बीबीसीकाअनुसार प्रधानमन्त्री ट्रुडोकी श्रीमती सोफीलाई कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको छ । विश्वव्यापी रूप लिइरहेको कोरोनाले क्यानडामा १ जनाको ज्यान गइसकेको छ । देशका विभिन्न क्षेत्रका १४२ नागरिकमा यसको लक्षण देखिएको छ । बिहीबार मात्रै त्यहाँका ३२ जनामा कोरोनाको संक्रमण देखिएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

काेराेना भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

हालसम्म एक सय २७ देशका एक लाख ३४ हजार सात सय दुई जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार तीन सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार तीन सय ४२ जना उपचाररत छन् । कोरोनाका कारण अहिलेसम्म चार हजार ९ सय ७९ जनाको ज्यान गइसकेको छ ।