विश्व स्वास्थ्य संगठनद्धारा कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा

विश्व स्वास्थ्य संगठनद्धारा कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा

एजेन्सी, २९ फागुन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि संगठनले हिजो यसलाई महामारी घोषणा गरेको हो ।

कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित भएका तथ्यांकहरू सार्वजनिक भएको छ । बुधबारसम्म ४ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् ।

हालसम्म १०९ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमितको संख्या कम हुँदै गएको छ । साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका डब्लुएचओले भनेको छ । यसअघि सार्स, मर्सले पनि धेरै मान्छेको ज्यान लिएको थियो ।