काठमाडौँ, २८ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको छ ।
बुधबार काठमाडौंमा आयोजित बिशेष कार्यक्रमकाबीच राप्रपाका दुई घटकबीच एकता घोषणा भएको हो । पटकपटक एकता हुँदै फुट्दै गरेका कमल थापा, पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनीबीच एकता भएको हो । एकता घोषणा सभालाई सम्बोधन गर्दै कमल थापाले गीताको पुस्तक छोएर अब पार्टी नफुटाउने कसम खानुभयो । उहाले अहिलेको अवस्थामा मुलुकमा बैंकल्पीक शक्तिको आवश्यक रहेको र त्यो बैकल्पीक शक्ति राप्रपा रहेको जिकिर गर्नुभयो । उहाले राप्रपाको एजेन्डा बलियो हुँदाहुँदै पनि नेताहरुकै कारणले जनविश्वास प्राप्त हुन नसकेको र जनविश्वास प्राप्त गर्न एकताबाहेक अरु उपाय नभएको बताउनुभयो । .
त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर राणाले पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्ष राणाले जनताले दिएको प्रचण्ड बहुमतलाई सरकारले सदुपयोग गर्न नसकेको आरोप पनि लगााउनुभयो । उहाले वाइडबडी विमान, सेक्युरिटी प्रिन्टिङ प्रेस, बूढीगण्डकी आयोजना लगायतलाई उनले भ्रष्टाचार भएको क्षेत्रका रूपमा उल्लेख गर्नुभयो ।
त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकलाई निकास दिन राप्रपा जनताको पार्टी बन्नुपर्ने धारणा राख्नुभयो । समान हैसियतमा तीन अध्यक्ष रहने गरी राप्रपामा एकता भएको हो । पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड गर्दा तीनै अध्यक्षको सहमतिमा हुने र बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको छ । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने र चुनाव चिह्नबारे छलफलपछि निर्णय लिने राप्रपाले जनाएको छ । २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएको थियो । तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो । त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियति व्यहोर्दै आएको थियो ।