पुरानो माया ( गीतिकविता )

पुरानो माया ( गीतिकविता )

रमेशचन्द्र घिमिरे

म तिम्रो दिलमा पसेर एकछिन निस्किन खोज्दैछु
हातमा अबिर लिएर थोरै जिस्किन खोज्दैछु

अबिर घस्ने निहुँले बाहुमा बेर्नुछ तिमीलाई
लोलाले ढाडमा हानेर स्वाद फेर्नुछ तिमीलाई
होलीको साइत पारेर निम्ठो म माया भर्दिन्छु
अबिर लिई झुक्याई तिम्रो शिरमा छर्दिन्छु

हिजोको दिन सँगसँगै फागु दलेको सम्झिएँ
मायाको बेर्ना उभिन नपाई ढलेको सम्झिएँ
आफ्नी थ्यौ तिमी पराई भयौ तै चित्त बुझाउँछु
पिच्कारी हानी तिमीलाई पूरै निथ्रुक्क रुझाउँछु

यै बेला फेरि देखियौ तिमी आँखा त्यैँ अल्झियाे
पुरानो माया बिर्सिसकेथेँ एक्कासी बल्झियाे
रोए नि भोलि रोऔँला के भो आजलाई हाँस्ने हो
होलीको निहुँ पारेर एक छिन पिरती गाँस्ने हो ।

– भ‍ोर्लेटार, लमजुङ ।