काठमाडौं, २४ फागुन । टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबारसम्ममा डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकहरूले तयारी रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गर्नुभएका प्राध्यापक डा. प्रेम ज्ञवालीले स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताउनुभएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीकी निजि चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अझै केहि समय सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने बताउनु भएको छ । उहाँले अहिले ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र सहजता महशुस गरिरहेकाले चाँडै अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार जाने तयारी भइरहेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सुरु देखिनै नियमित रुपमा खाना लिन थालेकाले औषधीले पनि राम्रो काम गरिरहेको अस्पतालले बताएको छ । दोस्रो मिर्गोला प्रत्यारोपणपछि दिइने औषधीको प्रभाव कम नभए सम्म बाहिरी संक्रमण बढ्ने खतरा रहेकाले अस्पतालबाट डिस्चार्ज भएको एकदेखि डेढ महिना सम्म सार्वजनिक कार्यक्रममा नजान सुझाव दिइने चिकित्सकहरुले बताएका छन् ।
गत बुधबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । उहाँलाई अस्पतालमा हिँडडुल गराउन थालिएको छ ।चिकित्सकहरुको प्रधानमन्त्रीसंग नियमित कुराकानी गरिरहेपनि सरकार र पार्टीका कुनै नेताहरुलाई भेटगर्न दिइएको छैन ।
प्रधानमन्त्रीले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिनुभएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको अस्पतालले बताएको छ ।