एजेन्सी । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित भएको छ । शुक्रवार निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले एक विज्ञप्ती जारी गर्दै चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि चलचित्रको प्रदर्शन रोकिएको विज्ञप्तीमा उल्लेख छ ।
कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीड भाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि चलचित्रको प्रदर्शन रोकिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
निर्माण टिमले चलचित्रको पखाई लम्बिन गएकोमा दर्शकसँग क्षमा पनि मागेको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकारको अर्को सूचना नआउँदासम्म चलचित्र प्रदर्शनमा आउने छैन । कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराइरहेको अवस्था छ । यसको असर व्यापारमा पुग्ने देखेर निर्देशक सुदर्शन थापाले चलचित्रको प्रदर्शन स्थगित गर्ने निर्णय लिएका हुन् ।
‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेखेका हुन् । पूजा र सुदर्शन चलचित्रका निर्माता हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्र सौरभ लामाले खिचेका हुन् । चलचित्रको गीतसंगीत अहिले चर्चामा छ ।