एसीसी इस्टर्न रिजन टी २०: नेपालको पहिलो जीत, थाइल्याण्ड ९ विकेटले पराजित

एसीसी इस्टर्न रिजन टी २०: नेपालको पहिलो जीत, थाइल्याण्ड ९ विकेटले पराजित

काठमाडौं, २१ फागुन । काठमाडौं, २१ फागुन । एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले पहिलो जीत हात पारेको छ । नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पुरा गर्दा कुशल मल्लले उत्कृष्ट पारि खेले ।

टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । सर्वाधिक कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । यस अघि नेपालले कुवेतविरुद्ध १५ ओभर ५ बलमा ७ विकेट गुमाएर जित निकालेको थियो ।

नेपालको जितमा ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए । थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए । नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ रन बनाए । यस लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।

जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ । र, नेपालले शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । तर, नेपालको एसिया कप छनोट आशा अन्य टिमको खेलमा भर पर्नु पर्नेछ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस अघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । थाइल्याण्डको यो लगातार चौंथो हार हो । थाइल्याण्ड पुछारमा रहेको छ ।

टी-२० मा सन्दिपको नयाँ कीर्तिमान

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । थाइल्याण्डविरुद्धको उनले लगातार २२ बलमा एक रन पनि नदिने क्रीतिमान राखेका हुन्। सन्दीपले आफ्नो पुरा ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए। यस अघि पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। उनले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए ।