प्रतिनिधि सभा बैठक बस्दै (के छ कार्यसूची ?)

प्रतिनिधि सभा बैठक बस्दै (के छ कार्यसूची ?)

काठमाडौं, १९ फागुन । संघिय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले “नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ ।

संसदका महासचिव मनोहरप्रसाद भट्टराईकाअनुसार गृह मन्त्री रामबहादुर थापाले “कारागार विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, उहाँले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी र “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले “अर्थ समितिको प्रतिवेदन सहितको नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

आजैको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि छलफल गरियोस्” भन्ने प्रस्ताव र “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

गृह मन्त्री रामबहादुर थापाले “अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्माे अभिसन्धि (Palermo Protocol) माथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसदका महासचिव भट्टराईले जानकारी दिनुभयो ।