

काठमाडौँ, १८ फागुन । सरकारले कोरोना भाइरसको जोखिम रहेका राष्ट्रमा नेपालको आवातजावत रोक्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै जोखिमयुक्त राष्ट्रको नेपालतर्फ हुने उडान रोक्ने तयारी गरेको बताउनुभयो । बिगत तीन महिनामा मन्त्रालयले हासिल गरेका उपलव्धीहरु सार्वजनिक गर्न आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले कोरोनाको जोखिम रोकथामका लागि जोखिममा रहेका राष्ट्रसँग आवातजावत रोक्न आवश्यक रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समन्वय समितिले यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्री ढकालले अहिले तयार गरिएको खरिपाटी क्वारेन्टाइन अझ केहीसमय राख्ने निर्णयमा पुगेको बताउनुभयो । मन्त्री ढकालले सरकारले १ महिना पछि गर्न लागेको सगरमाथा सम्वाद समेत तत्कालका लागि स्थगित हुनसक्ने संकेत गर्नुभयो । स्वास्थ्य मन्त्री ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलन हुँदै भित्रिने र बाहिरिने सबै यात्रुहरुको चेक जाँच गर्ने व्यवस्था मिलाइएको समेत बताउनुभयो । उहाले बिभिन्न अस्पतालमा आइसोलेशन वार्ड पनि तयारी अवस्थामा राखिएको भन्दै अनावश्यक अफवाहमा नपर्न अपिल गर्नुभयो ।
तीन महिनाको प्रगति सार्वजनिक गर्दै मन्त्री ढकालले स्वास्थ्यसम्बन्धी बिभिन्न कार्यविधी तयार र स्वीकृत भएको बताउनुभयो । त्यस्तै उहाले कर्मचारी समायोजनको काम पनि सकिएको दावी गर्नुभयो । सेवा प्रवाहमा पनि यसबीचमाा निकै उल्लेख्य काम भएको मन्त्री ढकालले दावी गर्नुभयो ।