एजेन्सी, १८ फागुन । काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना न्यून बनेको छ । विश्व बरियतामा आफु भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालविरुद्ध हङकले राम्रो प्रदर्शन गरेको छ । नेपालका बलरहरु आज पनि त्यति सफल हुन सकेनन् । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए भने कुशल मल्लले एक किेट लिए ।
सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन सराफ एक रनमा पेभेलियन फर्किदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।
अब नेपालले बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङ रहेका छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।