नेपालमा कस्तो छ त लागु औषधीको कारोबार ?

नेपालमा कस्तो छ त लागु औषधीको कारोबार ?

✍️ रामेश्वर शर्मा भुर्तेल

मानिसले प्रयोग गर्ने कुनै पनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्र्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउदछ । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागु औषध भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।

लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागु औषध तथा मनोद्दिपक पदार्थ (Phychotropic Substance) लवर्ण तथा अन्य पदार्थ सम्झनु पर्दछ ।

नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ । लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको छ । बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरहेका छन् ।भबिस्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुठाउनको लागी चोरी, डकैति , लुटपाट , हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका छन्। अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठुलो क्षति हुन पुग्छ । अर्कातिर लागु ओषधका कारोबारी पिचासहरुले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन् ।

लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको सल्लाह वा परामर्श बिना आफु खुसी औषधी प्रयोग गर्ने कार्य वा प्रबृतीलाई लागू पदार्थको दुरुपयोग भनी बुझ्दछौ । कुनै व्यक्तिलाई सधै भरी लागू औषधको सेवन गरि रहनु पर्ने अबस्थाको श्रृजना हुनु र सेवन गर्ने व्यक्तिको मानसिक र शारिरिक अबस्थामा परिबर्तन आउने कार्य नै दुर्व्यसन हो ।

लागू पदार्थ अर्थात् ड्रग्सलाई परिभाषित गर्दा त्यो पदार्थ जसलाई सेवन गरेपछि शरीरमा केही परिवर्तनको अनुभूति साथै अरुको आँखाले भाँप्न सक्ने लक्षणहरु देखा पर्दछ तथा यसको सेवनबाट शरीरको साधारण प्रक्रियालाई फरक पार्दै अर्कै खाले प्रभाव पार्दछ भन्ने बुझिन्छ । लागूपदार्थ अर्थात् ड्रग्सको कुनै निर्दिष्ट परिभाषा हुँदैन, यसको लत् लागेर बढी सेवन गर्न थालेपछि केवल अनुभूति र व्यवहारले शारीरिक तथा मानसिक स्थितिलाई फरक पार्ने कुरा हुन्छ । तर, विभिन्न लागू पदार्थहरुको नाममा फरक हुनुको साथै रसायनिक समिश्रणहरुको प्रभाव पनि फरक फरक हुन्छन् ।

कुनै पनि दवाइ अथवा ड्रग्स सेवन गरेपछि त्यसको साइड एफेक्ट (नकारात्मक असर) शरीरमा हुने गर्दछ । उदाहरणको लागि टाउको दुःखेको औषधि बढी सेवन गरेको अवस्थामा टाउको दुखाइ निकोहोला तर परोक्षरुपमा मान्छेलाई कमजोर पनि बनाएको हुन्छ । वास्तवमा सधै खाइरहने खानपिन पनि बढी खाए यसले नकारात्मक असर पार्दछ । लागू पदार्थ सेवन गरेपछि यसको मात्रपनि बढ्दै जान्छ मान्छेले यसलाई अन्तिम अवस्थामा आइपुग्दा नियन्त्रण गर्न गाह्रो हुन्छ त्यसपछि केही समयको पाहुना सरह पृथ्वीमा जीवित रहन्छ र उमेर नपुग्दै जीवन अन्त्य हुन्छ।

विद्यालयमा अध्ययन गर्ने १४–१५ बर्षमाथिका कतिपय युवाहरु कुलतमा फस्ने गरेका छन् । यस्तो लतमा लाग्ने युवाहरु कतिपयले सुईद्धारा लागुऔषध प्रयोग गर्ने गरेका छन् भने कतिपयले टिपेक्स सुघेर र टुबलेट प्रयोग गरेर कुलतमा लागेको पाइएको छ । दुव्र्यसनमा लाग्नेमध्ये अधिकांश सम्पन्न परिवारका युवाहरु रहेको बताइएको छ । धुम्रपान तथा मद्यपानको कुलतमा फसेका युवाहरुको शैक्षिक तथा स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुदै गइरहेको छ । युवाहरु अरुको देखासिकीका कारण पनि कुलतमा लाग्ने गरेका छन् । टोलछिमेकका युवाहरु कुलतमा लाग्ने क्रम बढेपछि परिवार र छिमेकीमा नराम्रो असर पर्ने गरेको छ । युवा मात्र होइन घरपरिवारको संरक्षण हुन नसकेका कारण अथवा कुलतमा लागेका कतिपय वालवालिहरु सडक वालक बनेका छन । जुन कारणले समाज लाई समस्या भएको छ ।

यी सवै कारणहरुले लागु औषध दुरुपयोगलाई नियन्त्रण गर्नु अनिवार्य भएको छ । लागु औषध दुरुपयोग तथा अवैध ओसार–पसारलाई अन्तर्राष्ट्रिय रुपमै अपराधको रुपमा हेरिन्छ । लागु औषध दुरुपयोग कुनै एक देशको सीमाभित्र मात्र सिमित रहदैन, यस्को उत्पादन, ओसार–पसार, विक्री वितरण र प्रयोग बिभिन्न मुलुकका बिभिन्न स्थानमा हुने भएकोले यसलाई नियन्त्रण गर्नुमा विश्वकै चासो रहने गर्दछ ।

नेपालमा प्राचिनकाल देखिनै जंगली रुपमा उम्रिएका गांजाका बोट तथा यसका पातबाट बनेको पदार्थलाई जोेगी सन्यासीहरु तथा सर्वसाधारणले शिवरात्री, होली जस्ता पर्वहरुमा रमाइलोका लागि मात लाग्ने वस्तुको रुपमा प्रयोग गरी आएको पाइन्छ । १९६० को दशकमा नेपालमा हिप्पीहरुको आगमन भएपश्चात् नेपालका युवायुवतिहरु लागु औषधको दुरुपयोगमा नराम्रो संग फस्न पुगे । विगतमा गांजा, चरेस, हेरोइन जस्ता पदार्थमा सिमित यो दुव्र्यसनको प्रवृत्ति सन् १९९० पछि सुइको माध्यमवाट लागु औषध लिने संख्या तर्फ वृद्घि भैरहेको छ । साथै अन्तर्राष्ट्रिय वजारमा नेपालमा उत्पादित गाँजा तथा यस्बाट वनेको चरेसको बढ्दो अवैध मागले गर्दा गांजा अफिमको अवैध खेती गर्ने प्रचलन बढेको पाइन्छ ।

लागु औषध को दुरुपयोग तथा ओसार–पसार केही अफिमजन्य खोकी औषधी र मनोद्वीपक औषधिमा सिमित रहेकोमा लागुऔषध तथा मनोद्वीपकको दुरुपयोग बढ्दो रुपमा पाइन्छ । यसका साथै लागुऔषधको ओसार–पसार तथा विक्री वितरणमा लागेका संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहले नेपालमा हवाईमार्गवाट तथा स्थलमार्गवाट लागु पदार्थ भित्र्याउने र विश्वबजारमा पु¥याउने गरेको पाइन्छ । यो कार्यमा नेपालको भैगोलिक अवस्थिति र लागुपदार्थ उत्पादन र ओसार–पसारमा न्यमिभल Golden Crescents रुपमा नाम कमाएका मुलुकहरु पकिस्तान, अफगानिस्तान र इरान तथा Golden Triangle को रुपमा नाम कमाएका मुलुकहरु थाइल्याण्ड, लाओस र म्यानमार नजिक भएको कारणले सो कार्य गर्न सजिलो भएको हो ।

लागु औषधको बढ्दो प्रयोगबाट युवाहरुलाई जोगाई राष्ट्र निर्माणमा सरिक गराउन तथा अन्तर्राष्ट्रिय रुपमा यसको नियन्त्रणका लागि जनाइएको प्रतिबद्धता अनुरुप नेपाल सरकारले काम गरिरहेको छ। नेपालमा गाजा चरेश जस्ता पदार्थ खुल्ला रुपमा प्रयोग बिक्री बितरण गर्नमा लागु औषध (नियन्त्रण) ऐन २०३३ ले प्रतिबन्ध लगाउने काम गरेको छ । गृह मन्त्रालयलाई लागु औषध नियन्त्रणको लागि आधिकारिक निकायको रुपमा तोकेको छ । यस ऐनले खासगरी आपूर्ति नियन्त्रणमा बढि ध्यान दिएकोेछ ।

नेपालमा लागु औषध अपराधमा संलग्न व्यक्तिहरुलाई लागु औषध अपराध नियन्त्रण ऐन, २०३३ अनुसार कारवाही गरिदै आएको छ । जसअनुसार सन् २०११ मा २१६३ जना, सन् २०१२ मा २६०० जना तथा सन् २०१३ मा २६७३ जना कारवाहीको दायरामा परेका छन् । लागु औषध नियन्त्रण व्यूरोको एक सर्वेक्षण अनुसार काठमाडौंको कारागारमा रहेका कूल बन्दिहरुमध्ये ३३ प्रतिशत थुनुवा बन्दिहरु तथा २०७० मा गरिएको अध्ययन अनुसार कूल कैदिहरु मध्ये २२ प्रतिशत लागु औषध सम्बन्धी अपराधमा संलग्न देखिएको छ । देशभरीको कारागारमा रहेको कूल बन्दिहरु १६३३६ मध्ये यस अपराधमा मात्र संलग्न २४८७ (१५.३ प्रतिशत) रहेको पाइन्छ । जसलाई तलको तालिकामा देखाइएको छ ।

विश्वकै साझा समस्याको रुपमा देखा परेको यो लागु औषध दुव्र्यसनको समस्या वाट संसारभर करिव ४४ करोड व्यक्तिहरु लागु औषधबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएको अनुमान गरिएको छ भने नेपालमा केन्द्रिय तथ्याङ विभागववाट २०६३ सालमा गरिएको एक सर्भेक्षण अनुसार कडाखाले लागु औषध प्रयोग गर्नेहरुको संख्या ४६,३०९ पुगेको देखिन्छ । यो संख्या दिनानुदिन बढिरहेको २०६९ को सर्भेक्षणले देखाएको छ । जसअनुसार कडाखाले लागु औषध प्रयोग गर्नेहरुको संख्या ९१,५३५ देखिन्छ । ६ वर्षको अबधिमा ९८ प्रतिशत भन्दा बढेको देखिन्छ भने बार्षिक ११.३६ प्रतिशत का दरले बृदि भएंको देखिन्छ । त्यसमा महिलाको संख्य ६३३० पुगेको छ ।


लागु औषध सेवन कसरी गर्न पुग्छन् ?

अहिले सम्मको बिभिन्न अध्ययनवाट लागु पदार्थको कुलतमा मानिसहरु पारिवारीक समस्या,साथीभाईको संगत, करकापले गर्दा, जिज्ञासु स्वभाबको कारणले,निराशा, असफलताको कारण, बेरोजगारको कारणले,सामाजिक, साँस्कृतिक कारणले तथा नेपालमा लागु औषध सहज रुपमा पाउनाले मानिस सहजै फस्न पुगेको देखिएको छ ।

लागु औषध सेवनबाट कस्तो असरहरु देखा पर्छ ?

लागु पदार्थको कुलतमा फस्ने व्यत्तिहरुलाई सुरुमा चिन्न गारो हुन्छ । तर पनि त्यस्ता व्यत्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, कारणविना रिसाइरहने, दैनिक कार्यमा विनासुचना अनुपस्थित भैरहनु, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, पैसा सामान चोरी हुदै जानु, अमिल्दो पहिरण, अमिल्दो कपाल कटाई, घरवाट लुसुक्क वाहिर जानु,कम वोल्ने, झुटो बोल्ने,आखाँ जुधाएर कुरा नगर्ने,राता आँखा, राम्ररी नसुत्ने,साथमा दुब्र्यसनका सामाग्री पाइन सक्छन् ।

लागु औषध सेवन वाट कस्ता जोखिमहरु देखिन्छन् ?

लागु औषध प्रयोग कर्ताहरुमा विस्तार विस्तार समस्याहरु देखा पर्दै जान्छन्।ध्यान केन्द्रित नभै सिक्ने क्षमता कम हुदै जानु,मानसिक रोगको प्रभाब पर्ने, आत्तिने, मति भ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने,स्मरण शत्ति कम हुदै जाने महिनावारी गडबढ हुने, ग्यास्टीक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एच.आइ. भी., एड्रस तथा हेपटाइटिस जस्तो रोग लागि अन्तमा मृतु समेत हुन पुग्छन् ।

लागु औषध दुर्व्यसेवनबाट कसरी बच्न र बचाउन सकिन्छ?

घर परिवारले आफ्नो छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरको जानकारी राख्नु पर्छ। बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्ने, खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे बिद्यालय तथा परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुर्व्यसेवनमा लागिसकेका लाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने,लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिक समाजलाई सकृय बनाउने, लागु पदार्थका दुर्व्यसेवनीलाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश ब्यापक रुपमा फैलाउने ।

लागुपदार्थको दुरुपयोग नियन्त्रणमा लागु औषध नियन्त्रण कार्यक्रमको प्रयासः

नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण तथा प्रहरीको कारर्वाही फितलो हुनुको कारणले यो समस्या दिनानुदिन बृद्धि हुँदै गैरहेको छ । यसरी दिनानु दिन बढ्र्दै गैरहेको लागु औषध दुर्व्यसेवनको समस्या समाधान गर्नको लागि गृह मन्त्रालयको माग घटाउ कार्यक्रम अन्तर्गत २०६२ श्रावण १ देखि लागु हुने गरी तत्कालिन लागुऔषध माग घटाउ आयोजना र सामुदायिक पुनस्र्थापना केन्द्रलाई एकीकृत गरी लागु औषध नियन्त्रण कार्यक्रमको स्थापना भएपश्चात् प्रत्येक वर्ष लागु औषध नियन्त्रणको क्रममा माग घटाउने उदेश्यले विभिन्न किसिमका चेतनामूलक कार्यक्रमहरु गैसस मार्फत गाँजा तथा अफिमको सट्टा वैकल्पिक कृषि जागरण अभियान कार्यक्रम तथा लागु औषध दुरुपयोग विरुद्धको अभिमुखीकरण कार्यक्रम लागु औषध प्रभावित जिल्लाहरुमा संचालन गरिदै आएको छ।

लागू औषध दुर्व्यसनबाट देखा पर्ने लक्षण तथा असरः-

शरिर दुव्लाउदै जानु, मुखबाट र-याल निस्कनु

शरिरको अगंहरुको misbalance हुनु।

अत्याधिक निन्द्रा लाग्नु।

भ्रम सिर्जना हुनु।

स्मरण शक्ति क्षिण हुनु।

दिमागी हालत बिग्रदै जानु।

मुटुको धडकन बढनु।

एकान्त स्थान मन पराउनु।

आँखा पहेलो र ओठ कालो हुदै जाने।

उच्च रक्तचापको शिकार हुनु।

ह्रृदयघात हुनु।

लामोसमय खोकी लाग्नु।

Bronchitis /Cancer जस्तो रोग लाग्नु।

पाचन प्रकिर्यामा समस्या आउनु।

Gastric /acidity हुनु।

बाझोपनको समस्या तथा महिलाको हकमा अनियमित गर्भाधान।

महिला लागू औषध प्रयोकर्ताबाट जन्मेको बच्चाको तौल कम हुनु तथा बच्चामा समेत त्यसको असर देखीनु।

लागु औषध सेवनको कुलतमा फसे पछी सेवन गर्न नपाउने अवस्था भएमा जुन सुकै घटना घटाउन पछी नपर्ने।

प्राणघातक रोग जस्तै HIV(AIDS), Hepatitis B, Hepatitis C जस्ता रोगहरु दुर्ब्यसनीहरुले एउटै सिरीन्ज प्रयोग गरेमा यस्ता रोगहरु एक ब्यक्तीबाट अर्को व्यक्तीमा सर्न सक्छ।

लागू औषधमा कानुनी सजायः-

१. मात्राको आधारमा –

(क) सेवन गरेमाः-

गाँजा सेवन गर्ने व्यक्तिलाइ १ महिना सम्म कैद वा रु २ हजार सम्म जरिवाना( चिकित्सा पुनर्स्थापना) केन्द्रले १ महिना उपचार गराउने गरि जिम्मा लिएमा उपचार गराइरहेको प्रतिबेदन पेश गर्ने गरी जिम्मा दिन सकिने)

अफिम, कोका वा सोबाट बनेको लागू औषध सेवन गर्नेलाई १ बर्ष कैद वा १० हजार सम्म जरिवाना। ( चिकित्सक वा पुनर्स्थापना) केन्द्रले ३ महिना उपचार गराउने गरि जिम्मा लिएमा उपचार गराइरहेको प्रतिबेदन पेश गर्ने गरी जिम्मा दिन सकिने)

(ख) खेती गरेमाः-

२५ बोटसम्म गाँजाको खेती गर्नेलाई ३ महिना सम्म कैद वा रु ३ हजार सम्म जरिवाना।

२५ बोट भन्दा बढी गाँजाको खेती गर्नेलाई ३ महिना सम्म कैद वा रु ५००० सम्म जरिवाना।

२५ बोटसम्म अफिम वा कोकाको खेती गर्नेलाई ३ बर्ष कैद वा रू ५ हजार- २५ हजार सम्म जरिवाना।

२५ बोट अफिम भन्दा माथी जति सुकै भए पनि ३- १० बर्ष कैद र रु २५ हजार देखी २ लाख सम्म जरिवाना।

उत्पादन, तयारी, खरिद, बितरण, निकासी वा पैठारी गरेमाः-

गाँजाः-

५० ग्राम सम्म गाँजामा ३ महिना सम्म कैद वा रू ३ हजारसम्म जरिवाना । ५० ग्रामदेखि ५०० ग्राम सम्म भए १ महिनादेखि १ बर्ष सम्म कैद र रु १- ५००० हजारसम्म जरिवाना । ५०० ग्रामदेखि २ किलो सम्म भए ६ महिनादेखि २ बर्ष सम्म कैद र रू २- १० हजारसम्म जरिवाना । २-१० किलोसम्म भए १ बर्षदेखि ३ बर्ष सम्म कैद र रू ५-२५ हजार सम्म जरिवाना । १० किलोदेखि जतिसुकै माथि भए पनि २ बर्षदेखि १० बर्ष सम्म कैद र रू १५ हजारदेखि १ लाखसम्म जरिवाना ।

अफिम,कोका वा सोबाट बनेको लागु औषध

२५ ग्राम सम्मको कारोवार गर्नेलाई ५-१० बर्ष सम्म कैद र ५-२५ हजार सम्म जरिवाना। २५-१०० ग्राम सम्म कारोवार गर्नेलाई १०-१५ बर्ष कैद र रु ७५ हजार देखी २ लाख सम्म जरिवाना। १०० ग्राम देखी माथी जति सुकै भए पनि सोको कारोवार गर्नेलाई १५ बर्ष देखी जन्म कैद र रू ५-२५ लाख सम्म जरिवाना।

नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरि तोकीदिएका प्राकृतीक वा कृतिम पदार्थ र तिनको लवण सेवन गरेमा २ महिना सम्म कैद र रू २ हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। हामी पनि यसको लत् लाग्नेहरुलाई आजबाट नै त्याग्न लगाएर स्वास्ग्य समाजको निर्माण गरौं, समाजले छोड्न नसक्ने अर्को कलंक लागू पदार्थलाई निर्मुल गरौं ।