ओली सरकारका राज्यमन्त्रीकै सल्लाहकारले गरे किशोरीलाई बन्धक बनाएर बलात्कार

ओली सरकारका राज्यमन्त्रीकै सल्लाहकारले गरे किशोरीलाई बन्धक बनाएर बलात्कार

काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई मोटरसाइकलमा लिफ्ट दिने नाममा ४ दिन बन्धक बनाएको आरोपमा उनी पक्राउ परेका हुन्। उनी १ फागुनमा पक्राउ परे पनि घटना सार्वजनिक भएको थिएन । घले पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले पुष्टि गरे।

प्रहरीका अनुसार घलेले किशोरीलाई माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेका हुन्। घलेविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्तीकरणी मुद्दा चलाइएकोमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको छ।

घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन । पढाइको बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कनेबेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ । अमेरिका लगिदिन्छु भन्दै घलेले किशोरीलाई फकाएर आफूसँगै काठमाडौं ल्याई कोठामा बन्धक बनाएर लगातार बलत्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेका थिए । ‘सिन्धुलीबाट फर्कने क्रममा अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा लग्यो, चार दिन बन्धक बनाएर बलात्कार गर्यो,’ किशोरीको भनाई उदृत गर्दै प्रहरीले भन्यो । घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको डिएसपी बोगटीले जानकारी दिए।

घलेविरुद्ध अपहरण तथा शरीर बन्धक एवम् जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको उनले जानकारी दिए। घलेले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए।