

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बसुन्धारामा आयोजना गरेको महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्ति समारोहमा बोल्दै सभापति देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नु भएको हो । उहाँले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
देउवाले भन्नुभयो– ‘हिंसाबाटमुक्त समाज निर्माण र प्रजातन्त्रका लागि कुनै पनि किसिमको सम्झौता गरिनेछैन । तर, पिसफुल वातावरण नभएपछि आन्दोलन लड्नै पर्छ । कांग्रेसले लड्ने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ ।’ निरंकुताको विरुद्धमा कांग्रेसले लडेपनि निर्वाचनमा भने कम्युनिष्टले जनमत पाएको अनौठो अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले अन्तिम लडाई लड्नु पर्ने अवस्था आउँदैछ। देशमा प्रजातन्त्रको स्थायित्व र राष्ट्रको हितमा निधिकै दर्शमा अघि बढ्नु पर्ने अवस्था आउँदैछ।’
सभापति देउवाले पार्टीमा धेरै समस्या आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले मैले पार्टीको झगडा ल्याएको होइन, पहिलेबाटै आएको हो । झगडाका बारेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालाई थाहा होला ।
त्यसैगरी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्ट स्टेट बनाउन उन्मुख भएको बताउनु भएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको जिकिर गर्नुभयो ।
निधिले भन्नुभयो– ‘जनवादी केन्द्रियतालाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्ने कम्युनिस्ट सत्तामा छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिइरहेको छ । सरकारले गरिरहेको भ्रष्टाचार, एकपछि अर्को गरी ल्याइरहेको विवादस्पद विधेयक, विवादस्पद निर्णयहरु सबै हेर्दा सरकार अधिनायवादतर्फ उन्मुख छ ।’
त्यसैगरी कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले कम्यनिस्टको दबदबामा आमजनता आजित भएको समयमा कांग्रेसले जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काँग्रेस नेता सिंहले सरकारका क्रियाकलापबाट जनता आजित भएको टिप्पणी गर्दै यस्तो परिस्थितिमा काँग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भनेर पनि स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला महेन्द्रनारायण निधिले शुरु गर्नु भएको अहिंसाको बाटो बढेमा निधिप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभयाे ।
त्यसैगरी कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले शान्ति र अहिंसाका माध्यमबाट कांग्रेसको नेतृत्वमा आएका परिवर्तनलाई मास्न खोजिरहेकोले यसका विरुद्ध कांग्रेसले अब शान्तिपुर्ण र अहिंसात्मक आन्दोलन गर्न जरुरी भइसकेको बताउनुभयो । सिटौलाले सरकारले संविधानलाई मुलुक समृद्ध बनाउनभन्दा आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभयो । उहाँले अराजक क्रियाकलापका कारण ओली सरकारको दिनगन्ती शुरु भएको बताउनुभयाे।
त्यसैगरी वैचारिक नेता प्रदीप गिरीले आन्दोलनको बिकल्प नभएको बताउनुभयो । उहाँले ५ लाख जनता सडकमा उतारेर अहिंसात्मक आन्दोलनबाट अधिनायकबाद उन्मुख सरकारलाई निकाल्नुपर्ने बताउनुभयो । २१ औं शताब्दीमा पैसा र बलको राजनीति होइन, नैतिकताको राजनीतिको जित हुने उल्लेख गर्नुभयाे। ओली सरकारले भ्रष्टाचार र दुराचारलाई प्रश्रय दिएको भन्दै गिरिले यस्तो राजनीति टिकाउ नहुने दाबी गर्नुभयाे।