‘परदेशी २’ मा भित्रिइन् केकी पनि

‘परदेशी २’ मा भित्रिइन् केकी पनि

चलचित्र ‘परदेशी २’ को महाशिवरात्रीको अवसर पारेर शुक्रवारबाट छायांकन सुरु भएको छ । चलचित्रको नेपाल र विदेशका विभिन्न ठाउँमा करीब दुई महिनासम्म छायांकन हुने निर्देशक नारायण रायमाझीले बताएका छन् । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा चलचित्र आधारित हुनेछ । यो चलचित्रबाट चर्चित गायक प्रकाश सपुतले अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

चलचित्रमा प्रकाशको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । ‘परदेशी’ को अघिल्लो श्रृंखलामा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । यसको सिक्वेलमा उनी पनि दोहोरिएका छन् । तर, उनको रोल प्रकाश सपुत जति लामो नभएको स्रोत बताउँछ । निर्देशक रायमाझीका लागि प्रशान्त ‘लक्की’ मानिन्छन् । उनले प्रशान्तलाई लिएर बनाएका दुई चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बक्सअफिसमा सुपरहिट भएका थिए ।

छायांकन सुरु भएसँगै ‘परदेशी २’ मा अभिनेत्री केकी अधिकारीको पनि प्रवेश भएको छ । कथाको मागअनुसार चलचित्रमा उनलाई अनुबन्ध गरेको निर्देशक रायमाझीले जानकारी दिए । उनले भने, ‘फिल्ममा उहाँ (केकी अधिकारी) को भूमिका पावरफूल छ । उहाँ र वर्षाको रोल चलचित्रमा बराबर जस्तै छ ।’ केकीले ‘परदेशी’ को सिरिजमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

रमेश वि.जीको कथा तथा पटकथा रहेको चलचित्रमा नीर शाह र गायक प्रकाश सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । नारायण रायमाझी र राजेश वंशल निर्माता रहेको चलचित्रको कथा निर्देशक रायमाझी आफैंले तयार पारेका हुन् । चलचित्रमा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र मान कृष्ण महर्जनको छायांकन रहनेछ ।