अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणमा, ताज महलको गरे अवलोकन

अमेरिकी राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणमा, ताज महलको गरे अवलोकन

आग्रा, १२ फागुन। अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाले सोमबार ताज महलको भ्रमण गर्नुभएको छ । उहाँहरूलाई उक्त अवसरमा सत्रौँ शताब्दीमा निर्मित विश्व प्रसिद्ध भारतीय पर्यटकीय स्मारकबारेमा जानकारी गराइएको छ ।

अहमदाबादबाट आग्रा पुगेका अमेरिकी उच्च पदाधिकारीले मुगल शासक शाहजहाँले आफ्नी प्रिय पत्नी मुमताज महलको सम्झनामा निर्माण गरेको स्मारकको ध्यानपूर्वक अवलोकन गर्नुभएको थियो । आग्रा एयरपोर्टमा आइपुगेपछि ट्रम्प दम्पत्तीले उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो । पाहुनाहरूलाई स्वागत गर्न विमानस्थलमा लोक नृत्य तथा झाँकीहरू प्रस्तुत गरिएका थिए । उहाँहरूलाई विमानस्थलबाट ताजमहलसम्म पुग्ने बाटोमा हजारौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले भारतीय तथा अमेरिकी झण्डा हल्लाएर स्वागत गरेका थिए ।

भ्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ताजमहलमा राखिएको आगन्तुक पुस्तिकामा लेख्नुभयो, “ताजमहलले मोहित तुल्याउँछ । यो भारतीय संस्कृतिको समृद्ध र विविध सौन्दर्यको शाश्वत प्रमाण हो ।”

ट्रम्प दम्पत्तीले भ्रमणका लागि विशेष छानेको उक्त ऐतिहासिक स्थलमा बेलायती राजकूमारी डायना, राजकूमार विलियम, केट मेडल्टन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँको परिवार र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँलगायतका विश्वका उच्च पदस्थ अधिकारीहरूले पनि भ्रमण गरेका थिए । रासस/एएनआई