रायमाझीको निर्देशनमा ‘परदेशी २’ को छायांकन शुरु, प्रकाश र वर्षा प्रमुख भुमिकामा

रायमाझीको निर्देशनमा ‘परदेशी २’ को छायांकन शुरु, प्रकाश र वर्षा प्रमुख भुमिकामा

काठमाडाैं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’ को सिक्वेलको शुक्रवारबाट छायांकन सुरु भएको छ । महाशिवरात्रीको अवसर पारेर चलचित्रको शुभ मुहूर्तसँगै छायांकन आरम्भ गरिएको हो । नारायण रायमाझीको निर्देशन रहने चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले प्रमुख भूमिका निर्वाह गर्दैछन् । उनले ‘परदेशी २’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् ।

चलचित्रमा प्रकाशको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी देखिनेछिन् । शुक्रवार भएको फिल्मको मुहूर्त समारोहमा उनीहरु दुवै उपस्थित थिए । प्रकाशले चलचित्रको छायांकन सुरु हुँदै गर्दा आफूमा डर र उत्साह दुवै रहेको बताउँदै आफूले पाएको भूमिका इमान्दारपूर्वक निर्वाह गर्ने बताए । त्यस्तै, अभिनेत्री वर्षाले ‘परदेशी’ सिरिजमा आबद्ध हुन पाएकोमा दुखी व्यक्त गरिन् ।

‘परदेशी’ को अघिल्लो पार्टमा निर्देशक रायमाझीले वैदेशिक रोजगारीको कथा बुनेका थिए । यसको सिक्वेलमा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइने जानकारी प्राप्त छ । ‘परदेशी २’ मा गायक सपुतका भाई देवेन्द्र बब्लुको पनि अभिनय रहनेछ । गायक प्रकाश सपुतले आफ्नो बाल्यकालदेखिको अभिनेता बन्ने सपना पूरा भएकोमा खुसी व्यक्त गरेका छन् ।

चलचित्रलाई आउँदो वर्षको दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रमा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ । चलचित्रको मुहूर्त समारोहमा उनी पनि उपस्थित भएका थिए । यो चलचित्रको अघिल्लो श्रृंखलामा उनी प्रमुख भूमिकामा थिए । अब, ‘परदेशी २’ मा प्रकाश, वर्षा र प्रशान्तलाई एकसाथ पर्दामा हेर्न निकै रोचक हुने देखिन्छ ।