झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन

झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन

काठमाडौँ, ९ फागुन । महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेको छ र यो समाचार तयार गरिएका बेलासम्ममा सात लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

काठमाडौँ, ९ फगुन : महाशिवरात्रिका लागि झकिझकाउसँग सिंगारिएको पशुुपति मन्दिर क्षेत्र । तस्वीर : प्रदीपराज वन्त, रासस

आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान् पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले राससलाई बताउनुभयो ।

शिवरात्रिका दिन वर्षा हुनुलाई शुभ मानिन्छ र अपराह्नदेखिको झरीको कुनै परवाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।

पचपन्नवटा धार्मिक–सामाजिक सामाजिक संस्थाले वनकालीमा एकीकृत रुपमा करीब पाँच हजार भक्तजनको सुुविधाका निम्ति भोजन, घामपानी छेक्ने त्रिपाल र पण्डाल खडा गरेका तथा भारतबाट आएका झण्डै २५०० तीर्थयात्रीलाई त्यस्तै सुरक्षित संरचना बनाएकाले तीर्थयात्रीको बिचल्ली नभएको पराजुलीले स्पष्ट गर्नुभयो ।

काठमाडौँ, ९ फागुन : महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड । तस्वीर :रोशन सापकोटा, रासस

साधु, सन्त, महन्त, नाँगा बाबा लगायतले धुनी जगाएर जाडोभगाएका र उनीहरुलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ । महाशिवरात्रिका दिन पाशुपत क्षेत्रमा सुरक्षालगायत सम्पूर्ण व्यवस्थापन पक्षलाई कोषसहित सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहभाागितामा एकीकृतरुपमा सुदृढ तुल्याइएको र कुनै किसिमका अप्रिय घटना नभएका प्रहरी वृत्त गौशालले जनाएको छ । रासस