नेपालमा पनि कम्युनिष्टहरुको राम्रो संकेत देखिएनः प्रचण्ड

नेपालमा पनि कम्युनिष्टहरुको राम्रो संकेत देखिएनः प्रचण्ड

काठमाडौं, ९ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको राम्रो संकेत नदेखिएको बताउनुभएको छ । कम्युनिस्टहरुले नभएको सत्ता प्राप्त गर्न सक्ने तर सत्तामा पुगेपछि आदर्शबाट विचलित भएका विश्व इतिहास रहेको भन्दै उहाँले नेपालमा पनि राम्रो संकेत नदेखिएको टिप्पणी गर्नुभयो ।

सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता कसरी पतन भयो भन्ने उल्लेख गर्दै प्रचण्डले संकेत त त्यति राम्रो नदेखिएको बताउनुभयो । कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायण विलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले कम्युनिस्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलाप देखिन थालेको बताउनुभएको हो ।

शुक्रबार भक्तपुरको मध्यपुर थिमिमा कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरु क्रान्तिमा हुँदा जनताको मन जित्न सक्ने भएपनि सत्तामा पुगेपछि विचलित हुन थालेको बताउनु भएको हो ।

हिजो मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग र तपस्या गर्न तयार हुने, प्रतिकृयावादीका जेलनेल र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्नसक्ने मान्छेहरु शासन हातमा आइसकेपछि विस्तारै अर्कैअर्कै र जनताबाट टाढिने गरेको प्रचण्डको भनाई थियो। उहाँले गल्ती गर्नेलाई कारवाही गर्ने र पार्टीलाई सुदृढ गर्ने संकल्प गर्नुपर्ने आजको आबश्यकता भएको बताउनुभयो ।