यसरी मनाइयो टुँडिखेलमा ७०औँ प्रजातन्त्र दिवस हेर्नुहोस् (तस्बिरमा)

यसरी मनाइयो टुँडिखेलमा ७०औँ प्रजातन्त्र दिवस हेर्नुहोस् (तस्बिरमा)

काठमाडौँ, ७ फागुन। काठमाडौंको टुँडिखेलमा बुधबार ७०औँ प्रजातन्त्र दिवस मनाइएको छ । क्रान्तिबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ हरेक बर्ष प्रजातन्त्र दिवस मनाउदै आएको छ । 

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माण, वैदेशिक लगानीजस्ता समृद्धिको महाअभियानमा अवरोध पुग्ने काम भइरहेको उल्लेख गर्दै त्यस्ता अवरोधले समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रको सम्पन्नताका लागि तय गर्नुपर्ने बाटो लामो भएको र त्यसतर्फ मुलुक यात्रारत रहेको बताउनुभयो । उहाँले यात्राको थालनीलाई औचित्यहिन र अनावश्यक ठान्ने प्रवृत्तितर्फ सरकार सचेत रहेको बताउनुभयो । संविधान जारी भएपछि आम निर्वाचनद्वारा बनेको सरकारले भर्खरै दुई वर्षे कार्यकाल पूरा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले राज्य सञ्चालनको आधार वर्षका रुपमा लिएको बताउनुभयो । उहाँले अहिले नयाँ संविधानबमोजिमका राज्य संरचना निर्माण, सङ्घीयता कार्यान्वयन, वित्तीय व्यवस्थापन, कानून र जनशक्ति समायोजन गरेर सरकार अघि बढेको प्रष्ट्याउनुभयो ।

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै प्रजातन्त्र दिवस अंकित झण्डासहितको नेपाली सेनाको हेलीकोप्टरबाट पुष्पवृष्टि गरीएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कला प्रदर्शन गरेका थिए ।त्यसैगरी महानगरपालिका, उपमहानगपालिकाहरुले आ–आफ्नो साँस्कृतिक कला र नृत्य प्रर्दशन गरेका थिए ।

s

प्रजातन्त्र दिवसमा राष्ट्रपति भण्डारी, प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायत संवेधानिक निकायका प्रमुखहरु, मन्त्रीहरु, सांसदहरु, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।