काँग्रेस संसदीय दलद्वारा पूर्वसांसद ज्ञवालीको निधनप्रति दुःख व्यक्त

काँग्रेस संसदीय दलद्वारा पूर्वसांसद ज्ञवालीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ६ फागुन । नेपाली काँग्रेस संसदीय दलको कार्यालयले पूर्वसांसद भागवत ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्ति जारी गरी आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन हुनुभएका काँग्रेसका नेता एवं पूर्वसांसद ज्ञवालीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली काँग्रेस संसदीय दल ज्ञवालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्मको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना गर्दछ ।”

विसं २००१ मा गुल्मीमा जन्मनुभएका ज्ञवाली विसं २०३३ मा काँग्रेस गुल्मीको संस्थापक सभापति भई पार्टी सङ्गठन विस्तार र प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएको हरेक आन्दोलनमा सक्रिय रहनुभएका स्व ज्ञवाली लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा पटक–पटक गिरफ्तारी हुनुका साथै जेलजीवन समेत व्यतित गर्नुभएको थियो ।

ज्ञवाली विसं २०४८ को आम निर्वाचनमा गुल्मी जिल्ला निर्वाचन क्षेत्र न २ बाट नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको सदस्य पदमा निवार्चित हुनुभएको थियो । ज्ञवाली जस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको काँग्रेस संसदीय दलले जनाएको छ ।