पूर्वउपसभामुख तुम्बाहाङ्फेलाई बनाइयो कानुनमन्त्री, आजै सपथ

पूर्वउपसभामुख तुम्बाहाङ्फेलाई बनाइयो कानुनमन्त्री, आजै सपथ

काठमाडौँ, ५ फागुन । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारीअनुसार तुम्बाहाङ्फेको दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको छ ।

अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो । लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उहाँले राजीनामा नदिने अडान राख्दै आउनु भएको थियो । उहाँलाई माघ १४ गते बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।