खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

–रमेश गिरी-

भक्तपुर, ३ फागुन । सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ ।

भक्तपुर, भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा चीनबाट फर्काइएका नेपाली सुत्ने कक्ष, जहाँ सम्पूर्ण सामानको व्यवस्था गरिएको छ । तस्वीर : रमेश गिरी, रासस

क्वारेन्टाइनस्थलमा आज रासस र नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई सरकारले गरेको तयारीकाबारेमा जानकारी गराउँदै भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरी तयारी पूरा गरेको शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यान्वयन काठमाडौँका सहसचिव कुमार घिमिरेले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्दै आइशोलेसन वार्डमा हुने जतिकै सुविधासहितको व्यवस्था गर्दै भवनमा रङ्गरोगन, बगैँचा निर्माण, भौतिक संरचना एवम् विद्युतीयदेखि स्यानेटेरीसम्मको मर्मत सम्भार, सुत्ने ठाउँदेखि दैनिक उपयोग सम्पूर्ण नयाँ सामानको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

निरीक्षण गरिँदै । भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा टेलिभिजन कक्षको निरीक्षण गरिँदै । चीनबाट फर्काइएका नेपालीलाई राख्ने व्यवस्था गरिएको भवनको प्रत्येक तलामा यस्तो सुविधा छ । तस्विर : रमेश गिरी, रासस

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा सघाउ पु¥याउँदै छ दिनभित्र सम्पूर्ण तयारी पूरा गरेको उहाँले बताउनुभयो । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्थापन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ ।

भवनमध्ये ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना गरी कूल २०० जना क्षमता रहेको क्वारेन्टाइन तयार पारेको सचिवालयका उपसचिव विदुर खड्काले जानकारी दिनुभयो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली लिएर आज चीन जाँदैछ । विमानमा चीनबाट पुरुष १४३, महिला ४२ र विदेशी नागरिक हुण्डुरसकी एक महिला गरी १८६ जनालाई चीनबाट आइतबार बिहान ३ः०० बजेसम्ममा त्रिभुवन विमानस्थल ल्याइपु¥याइने भएको छ ।

भक्तपुर, सरकारले चीनको वुहानबाट आईतबार राती ल्याउने नेपालीहरुलाई राख्न भक्तपुर, ३ फागुन । सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाईन स्थल सफाइ गर्दै सेना । तस्विर : रमेश गिरी, रासस

त्रिभुवन विमानस्थल ल्याएपछि स्वास्थ्य परीक्षण गराई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित क्वारेन्टाइनमा लगेर तोकिएको कोठामा प्रवेश गराइनेछ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसिक्यामरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ्ग मेशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स र औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक श्ययामा पु¥याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन श्यया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा नविन पूmँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहनेछ । क्वारेन्टाईनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवम् रगत सङ्कलन गरिनेछ । अरु दिन व्यक्ति स्वयम्ले स्व–जाँच गर्न मिल्ने थर्मोमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ ।

सफाइमा दमकल । सरकारले चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण परिसरमा बनाएको क्वारेन्टाइनस्थल सफाइ गर्दै जुद्ध वारुण यन्त्रका कर्मचारीलगायत । तस्विर : रमेश गिरी, रासस

कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँच शङ्कास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा शसस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ । सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन। क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहानको नास्ता, ११ः०० बजे खाना, ३ः०० बजे खाजा र साँझ ७ः०० बजे खानाको व्यवस्था गरिएको छ । छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनस्थल । फागुन चीनको वुहानबाट ल्याइने नेपालीलाई राख्न भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनस्थल । सरकारले वुहानमा बसोबास गर्दै आएका नेपालीलाइ स्वदेश ल्याउने तयारी गरिरहेको छ । तस्विर : रमेश गिरी, रासस

पत्रकारका लागि क्वारेन्टाइन बाहिर सञ्चारकर्मी कक्षको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।

चीनबाट फर्कने नेपालीलाई लिन जाने पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । सबै व्यवस्थापनका लागि सरकारको करिब रु छ करोड खर्च हुने भएको छ । स्थानीयबासिन्दामा त्रास नहोस भनेर आजसम्ममा नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिव पौडेल, महानगरीय प्रहरी परिसरका प्रमुख सविन प्रधानलगायतको संयुक्त टोलीले जनचेतना अभिवृद्धि गरेको छ ।

स्थानीयबासिन्दाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरणसमेत गर्ने भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नभएका, स्वस्थ्य व्यक्तिलाई ल्याएर १५ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ्य प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारीले आग्रह गर्नुभएको छ । रासस