आउँदो असारसम्‍म मेलम्चीको पानी सुन्दरीजल ल्याउने मन्त्री मगरको घोषणा

आउँदो असारसम्‍म मेलम्चीको पानी सुन्दरीजल ल्याउने मन्त्री मगरको घोषणा

काठमाडौँ, २ फागुन । खानेपानी मन्त्रालयले आउँदो असारसम्‍म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ ।

बिहीबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गर्नुभएको हो । त्‍यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्‍मको आयोजनाको काम पनि असारभित्रै सक्ने उहाँले बताउनुभयो । असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेको समेत उहाले बताउनुभयो । खानेपानी मन्त्री बिना मगरले आयोजनाले अहिलेसम्म विभिन्न समस्या बेहोर्न परेको बताउनुभयो । असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको मन्त्री मगरले बताउनुभयो ।

कार्यक्रममा खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम सक्नका लागि केही समय लाग्ने भएपनि अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्ने बताउनुभयो । सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । त्यस्तै सीएमसीले कामदार र सक कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्‍त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको समितिले जनाएको छ ।