प्रणय दिवस/ प्रेम दिवस/भ्यालेन्टाईन ‘डे’: माया र मायालुप्रति बफादार बनौं

प्रणय दिवस/ प्रेम दिवस/भ्यालेन्टाईन ‘डे’: माया र मायालुप्रति बफादार बनौं

काठमाडौं, २ फागुन । प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् ।

त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आइ लभ यु’ सम्म फर्माउनका लागि यही गुलाब प्रयोग गरिन्छ । जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिंदैन, तर एउटा पूर्ण फक्रिनसकेको गुलाबको फूलले त्यो भावनालाई प्रतिबिम्बित गर्न पर्याप्त हुन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन ‘भ्यालेन्टाइन डे’ लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् ।

गुलाफ फूलको अन्तर्राष्ट्रिय रूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बृद्धि हुनेछ । गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपियाँसम्म तिरेका उपभोक्तालाई यस वर्ष ५० रुपियाँदेखि सय रुपियाँसम्म पर्नेछ ।

यस्तै समाचार एजेन्सीका अनुसार पाकिस्तानमा यो प्रणय दिवस मनाउन रोक लगाइएको छ भने साउदी अरेबियामा प्रहरीले प्रणय दिवस माथि प्रतिबन्ध लगाएको छ । त्यहाँ महिला र पुरुष रेस्टुरेन्टमा अलग्गै बस्नुपर्छ । यता भारतमा प्रणय दिवस मनाइए पनि पश्चिमी संस्कृति भएको भन्दै अलोचना पनि गर्ने गरिएको छ ।

जे होस् आज प्रणय दिवसका दिन यति भन्नैपर्छ, प्रेमलाई केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरुविचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र मायालुप्रति बफादार बनौं । प्रणय दिवसका अवसरमा सबैलाई शुभकामना ।