काठमाडौं, १ फागुन । नेपाली कांग्रेसले वर्तमान सरकारका जनविरोधी क्रियाकलापका विरुद्ध चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा हिजो बसेको बैठकले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने तथा संविधानको मर्म एवं भावना विपरितका विधेयकका विरूद्द चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी क्रियाशील सदस्यता वितरण र नविकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशनका विषयमा पनि निर्णय गरेको छ।
(क)पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ फागुन १५ गते भित्र ।
(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण १६ गते देखि २०७६ चैत्र मसान्त सम्म ।
(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्त भित्र ।
(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गते भित्र ।
(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्त भित्र ।
(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गते भित्र ।
(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गते भित्र ।
(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गते भित्र ।
(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्त भित्र ।
साथैपार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य कतिपय जिल्लाहरुमा हालसम्म पनि सम्पन्न भई नसकेको हुँदा समायोजनको बाँकी कार्य तत्काल सम्पन्न गराउन केन्द्रीय कार्यालयले आवश्यक कार्य गर्ने भएकाे छ ।