सवारी दुर्घटनामा अभिनेत्री महिमा सिलवालको मृत्यु

सवारी दुर्घटनामा अभिनेत्री महिमा सिलवालको मृत्यु

धादिङ, १ फागुन । नेपाली चलचित्रकी अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ ।

बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । महिमा र शर्मिला बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती दुर्घटना भएको हो । अभिनेत्री महिमा सिलवालकी बहिनी शर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र शर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी चलचित्र र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनी अभिनित अझै आधा दर्जन चलचित्र प्रदर्शनको पखाईमा छन् ।