अमेरिकामाथि नेपालको कीर्तिमानी जित, अमेरिका ८ विकेटले पराजित

अमेरिकामाथि नेपालको कीर्तिमानी जित, अमेरिका ८ विकेटले पराजित

काठमाडौँ, २९ माघ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको हो । अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालले ओडीआईमा यो सर्वाधिक छिट जित हात पारेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा अल आउट हुँदै ३५ रनमा समेटिएको थियो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो ।

अमेरीकाको पारीलाई ध्वस्त पार्न सन्दिप लामिछानेले ६ विकेट लिए । एकदिवसिय क्रिकेटमा नेपाली बलरले पाँच विकेटको हल लिएको दोस्रो पटक हो । यसअघि सोमपाल कामीले यूएई विरुद्ध दुबईमा भएको एकदिवसिय खेलमा ३३ रनमा पाँच विकेट लिएका थिए । तर सन्दिपले ६ ओभरमा एक मेडेन राखेर १६ रनमा ६ विकेट लिए ।

ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो ।

ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर सिरिज क्लिन स्विप गरेको छ । दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।