आईसीसी विश्वकप लिग-२ : आज ओमान र अमेरिका भिड्दै

आईसीसी विश्वकप लिग-२ : आज ओमान र अमेरिका भिड्दै

काठमाडौं, २८ माघ । आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजमा आज ओमान र अमेरिका बीच प्रतिस्पर्धा हुदैछ । किर्तिपुरको त्रिवि मैदानमा हुने खेल बिहान साढे नौ बजेपछि सुरु हुनेछ । ओमान र अमेरिका यो सिरिजमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघिको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा दुई सय १३ रनमा अलआउट भएको थियो । ओमानले ४९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्दा आकिब इलियासले ७२ रनको अविजीत पारी खेलेका थिए ।

ओमान लगातार चौथो जीत हात पार्दै सिरिज टुङ्ग्याउने लक्ष्यमा छ । ओमानले नेपाललाई पहिलो खेलमा १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित गरेको थियो । नौ खेलबाट १४ अङ्क जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ । अमेरिका भने यो सिरिजमा जीतविहिन छ । अघिल्लो खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको थियो ।

त्यसैले यो खेल अमेरिकी टिमका लागि लयमा फर्कने अर्को एउटा मौका हो । दोस्रो स्थानमा झरेको अमेरिकाको दश खेलबाट १२ अङ्क छ । अमेरिकाका मुख्य ब्याट्सम्यान आरोन जोन्स, स्टेभन टेलर र जेभियर मार्शल चलिरहेका छैनन् । ओमानको भने नेपालमा सिरिजको यो अन्तिम खेल हो ।