प्रेम दिवसको अवसरमा सौराहा खाना महोत्सव

प्रेम दिवसको अवसरमा सौराहा खाना महोत्सव

काठमाडौं, २७ माघ । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ।

चौधौँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ। रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ। महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए।

महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिनेछ। महोत्सव अन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ। सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिए। महोत्सव अन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायत कार्यक्रम हुनेछन्।

प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ।

जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम छ।