कोरोना भाइरस संक्रमण: मृत्यु हुनेको संख्या ९ सय नाघ्याे

कोरोना भाइरस संक्रमण: मृत्यु हुनेको संख्या ९ सय नाघ्याे

काठमाडौं, २७ माघ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ।

यसैबीच हङकङको एउटा पानीजहाजमा कोरोना संक्रमणको आशंकामा पाँच दिनदेखि रोकिएका यात्रुलाई जहाजबाट उत्रन अनुमती दिइएको छ । जहाजमै गरिएको परीक्षणबाट उनीहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएपछि जहाजबाट उत्रन अनुमती दिइएको बीबीसीले जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४० हजार पुगेको जनाएको छ।

जापानमा यस्तै एउटा जहाजमा रहेका यात्रु भने ६ दिनदेखि डाक्टरको निगरानीमा छन् । एकजना कोरोना संक्रमित जहाजमा रहेको पाइएपछि जहाजका सबै तीन हजार सात सय नागरिकलाई क्वारेन्टाईनमा राखिएको खबरमा उल्लेख छ । वुहानबाट सुरु भएको भाइरसको सङ्क्रमण हाल विश्वका करिब ३० देशमा फैलिसकेको छ।