नेपाल ओमानसँग ८ विकेले पराजित

नेपाल ओमानसँग ८ विकेले पराजित

काठमाडौं, २६ माघ । आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपाल दोस्रो पटक ओमानसँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । लगातार तेस्रो जीत निकालेको ओमान भने तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । नेपालले अब अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्ने छ ।

नेपालले दिएको २५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा पुरा गरेको हो । ओमानको जीतमा अकिब इलियस र जिसन मक्सुदले उत्कृष्ट पारि खेले । इलियसले शतक बनाउँदा मक्सुदले अर्धशतक बनाएका थिए ।

पहिलो विकेट ४९ रनमा गुमाएको ओमानले दोस्रो विकेट ८३ रनमा गुमाएको थियो । ओमानका जतिन्दर सिंह व्यक्तिगत २३ रन बनाएर कुशल मल्लको बलमा आउट भएका थिए भने ४१ रन बनाएका खबर अलिलाई पनि सुशन भारीले पेभेलियनको बाटो देखाएका थिए । त्यसपछि क्रिजमा इलियस र मक्सुदले उत्कृष्ट साझेदारी गर्दै ओमानलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । इलियसले १०२ बलमा शतक पुरा गरेका थिए । अन्तिमसम्म क्रिजमा रहेका इलियसले नट आउट १०८ रन बनाउँदा मक्सुद पनि ६८ रनमा अविजित रहे ।

नेपालका तर्फबाट ७ जनाले बलिङ गरे पनि २५० रनको लक्ष्य गर्न असफल रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेले । उनी ५६ रन बनाएर आउट भए । यसैगरी पारस खड्काले ३८ रन बनाउँदा विनोद भण्डारीले ३५ रन जोडे ।

यस्तै कुशल मल्ल र आरिफ शेखले समान २८–२८ रन बनाउँदा ओपनर सुवास खकुरेलले २२ रनको योगदान गरेका थिए । नेपालका करण केसी १० रनमा आउट हुँदा सन्दीप लामिछाने १० रनमै नट आउट रहे भने आज डेव्यु गरेका कमलसिंह ऐरी ९ रनमा नट आउट रहेका थिए । आजको खेलमा दीपेन्द्रसिंह ऐरीले भने रनको खाता नै खोल्न सकेनन् ।