काठमाडौं । एमाले र माओवादी केन्द्रलाई एकै ठाँउमा उभ्याउनुको पछाडी एक व्यापारिको हात रहेको तथ्य सार्वजनिक भएको छ । लामो रस्साकस्सीपछि एमाले र माओवादी केन्द्र एकिकरणको अन्तिम चरणमा छन्, दुई पार्टी एकै ठाँउमा उभिने वातावरण बनाउन धेरै नेताले अनेक कसरत गरेको दावी गरिरहेपनि ती व्यापारीले आफ्नो ९९ प्रतिशत हात रहेको दावी गरेका हुन् ।
एमालेका बामदेव गौतम र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई बाम गठन्धनका सुत्रधार नै भन्ने गरिएको छ । तर बाहिर प्रचार गरिए जस्तो उहाँहरु सुत्रधार नभएको एक जना बरिष्ठ व्यापारीको दावी छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा झापाको वि एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईले आफ्नै कारणले पार्टी एकता भएको दावी गर्नुभयो ।
दुई दल विच भएका सहमतीलाई भक्तपुरको ठिमीस्थीत आफ्नै घरमा अन्तिम रुप दिईएको र प्रधानमन्त्री निवास बालुवाटारबाट घोषणा मात्रै भएको बताउनु भयो ।
उहाँले फेरी थप्नुभयो, “दुई पार्टीबीचको सम्झौता मेरै घरमा बसेर मैले गराएको हुँ, मैले कुनै नराम्रो काम गरेको होईन, देश जोड्ने र देश विकास गर्ने काम मैले गरेको छु ।”
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका गृहजिल्लाबासी प्रसाईले अझ प्रष्ट पार्दै भन्नुभयो, “लन्चको बेलामा मैले ओलीलाई आधा घण्टा संझाएँ, अनि उहाँ माथी जानु भयो र प्रचण्डसँग सहमती गर्नुभयो ।”
उहाँले ओलीलाई सहमती गर्ने उपायका बारेमा आफुले सुझाएको बताएपनि सहमतीका बारेमा भने उहाँ आफैले स्पष्ट पार्न सक्नु भएन । धमलासँगको कुराकानीका क्रममा उहाँले सहमतीका बारेमा गहिरो तरिकाले बताउन सक्नु भएन ।
आफ्नो घरमा नै नेताहरु बार्ताका लागि बस्नुको कारणका बारेमा स्पष्ट पार्दै उहाँले भन्नुभयो, बास्तुका हिसावकितावले मैले निकै मिलाएर घर बनाएको छु, त्यसैले मेरो घरमा भएका सवै बार्ता, बैठकहरु मिल्ने भएका छन् ।
अन्तबार्ताको अन्त्यमा व्यवसायी प्रसाईले फेरी भन्नुभयो, “एमाले र माओवादीकाबीचमा सहमती गराउन अन्तिममा मेरो ९९ प्रतिशत भूमीका रह्यो ।”
–नेपाली रेडियो नेटवर्कको नेपाली बहसबाट साभार