काठमाडौं, २४ माघ । नेपाली काँग्रेसको अवरोधका कारण संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज बसेको पहिलो बैठक काँग्रेसले चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
तर केही समयपछि सूचना टाँसेर सङ्घीय संसद् सचिवालयले संसद् बैठक पर्सिसम्मका लागि स्थगित भएको जानकारी गराएको हो । आजको पहिलो बैठकमा काँग्रेस नेता मीनबहादुर विश्वकर्माले संवैधानिक आयोगलाई सरकार आफैँले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेको भन्दै संसद चलाउन सहयोग गर्न नसकिने बताउनुभयो ।
बैठक सुरु भए लगत्तै उठेर विरोध गरेका काँग्रेस सांसदलाई सभामुख अग्नि सापकोटाले बोल्न समय दिनुभएको थियो । काँग्रेसको तर्फबाट धारणा राख्दै सांसद विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाएको अख्तियारको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
सो समयमा निर्णय गर्ने प्रधानमन्त्री निर्दोष रहने तर जग्गा अनियमितता गराउनलाई कुनै सम्बन्ध नरहेको भौतिक पूर्वाधार मन्त्री दोषी हुने कसरी ? भन्दै विश्वकर्माले प्रश्न गर्नुभयो । काँग्रेसको मान्यता कानुनी राज्य हुनुपर्दछ, भ्रष्टाचार हुनुहुँदैन भन्ने भए पनि अहिले आएर राजनीतिक प्रपञ्च रचिएको उहाँको भनाइ थियो ।
काँग्रेसले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेकोमा विरोध गर्दै आएको छ । काँग्रेसले हिजोको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।