काठमाडौं, २३ माघ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तर्गत आज ओमान र अमेरिकाबीच खेल हुँदैछ । यसअघि दुवै टिमले दुई सिरिज खेलिसकेका छन् । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।
दुवै टिम गत वर्ष भएको डिभिजन २ मा एकदिवसीय मान्यता पाएपछि लिग–२ का लागि छनोट भएका थिए । ७ राष्ट्र सहभागी लिग–२ मा हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । शीर्ष ३ मा रहने राष्ट्रले सिधै सन् २०२३ को विश्वकप छनोटमा स्थान बनाउने छन् । अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अङ्कका साथ तालिकाको शिर्ष स्थानमा छ ।
ओमान ७ खेलमा ५ जित सहित १० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । ओमानले भने दोस्रो सिरिजको दुई खेल गुमाएको थियो । उसको राजाको निधनका कारण दोस्रो सिरिजको अन्तिम २ खेल खेलेको थिएन ।
सिरिज खेल्न नेपाल आएका दुवै टिमको लक्ष्य सबै खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहनु हो । ओमानले पहिलो खेलमा घरेलु टोली नेपाललाई कम रन बनेको खेलमा १८ रनले पराजित गरेको थियो । बिहिबार अमेरिका र ओमान दुवै टिम जित निकाल्ने लक्ष्य सहित मैदान प्रवेश गर्ने छन् ।