चाडबाडको आधिकारिक जानकारी दिन ‘पञ्चाङ्गभास्कर’

चाडबाडको आधिकारिक जानकारी दिन ‘पञ्चाङ्गभास्कर’

काठमाडौँ, २० माघ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रत्येक वर्ष पात्रो (पञ्चाङ्ग) मा प्रकाशन गर्न नसकिएका तिथि, मिति, चाड, पर्वसम्बन्धी विषय ‘पञ्चाङ्गभास्कर’ नामक कृतिमार्फत सार्वजनिक गर्ने भएको छ ।

पात्रोमा सबै विषय समावेश गर्न नसकिने भएकाले विभिन्न विषयमा विस्तृत जानकारी दिन वर्षमा कम्तीमा एकपटक ‘पञ्चाङ्गभास्कर’ प्रकाशन गरिने आज आयोजित यस वर्षको कृति विमोचन कार्यक्रममा जानकारी दिइयो । वार्षिक प्रकाशनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट व्यवस्था गर्ने वचन दिएको जनाइएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले नेपालमा करिब ४० मानिसले ज्योतिषीय फलादेश गरिरहेको जानकारी प्राप्त भएकाले तिनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केही कार्यक्रम बनाउन लागिएको जानकारी गराउनुभयो । फलादेश गर्ने र ज्योतिषसम्बन्धी काम गर्नेलाई शास्त्रीय मान्यताअनुरूप काम गर्न पनि उहाँले आह्वान गर्नुभयो ।

“धर्म, कर्म र संस्कार संस्कृतिमा आएका विकृति रोक्न सबै जना लागौँ, ज्योतिष पेशा गर्नेले शास्त्रको मर्यादा राखेर सम्मानित हुने गरी काम गरौँ”, अध्यक्ष गौतमले भन्नुभयो । प्रा डा दीर्घराज घिमिरेले पात्रोमा सूत्रगतरूपमा चाड पर्वसम्बन्धी विषय उल्लेख गरिने भएकाले त्यसलाई स्पष्ट पार्न ‘पञ्चाङ्गभास्कर’ लाई अनुसन्धानमूलक कृतिका रूपमा स्थापित गरी लैजानुपर्ने बताउनुभयो ।

जिज्ञासुका लागि जानकारीमूलक र विश्लेषणात्मक लेख कृतिमा राखिनुपर्ने उहाँले बताउनुभयो । वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले सामाजिक सञ्जाल वा विद्युतीय सञ्चारका माध्यमबाट नामकरण संस्कारलगायत कर्म गर्न नसकिने भए पनि ज्योतिष एवं पुरोहितले यस्तो गराइरहेकाले जागरण आवश्यक रहेको बताउनुभयो ।

अग्नि र ब्राह्मण साक्षी राखेर मात्र कर्म गर्न सकिने शास्त्रीय वचन तोड्न नसकिने उहाँको भनाइ थियो । वाल्मीकि विद्यापीठका सह–प्राध्यापक डा माधवप्रसाद पाण्डेयले शास्त्र प्रमाणका आधारमा मात्र चाड पर्वसम्बन्धी विषय निर्णय गर्न देशभरका पुरोहित एवं ज्योतिषीलाई प्रोत्साहन गर्ने किसिमका लेख रचना ‘पञ्चाङ्गभास्कर’ मा प्रकाशित हुनुपर्ने बताउनुभयो ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले ‘पञ्चाङ्गभास्कर’ लाई सांस्कृतिक जगत्मा सर्वोच्च अदालतले प्रकाशन गर्ने कानून पत्रिका जस्तै रूपमा लैजाने सोच बनाई अघि बढ्न लागेको बताउनुभयो । समितिका सदस्य एवं नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दीनेशराज पन्तले विसं १९४१ देखि नै पात्रो (पञ्चाङ्ग) प्रकाशन हुन थाले पनि त्यसलाई व्याख्या गर्ने आधिकारिक कृति नभएकाले ‘पञ्चाङ्गभास्कर’ प्रकाशन निरन्तररूपमा हुनुपर्ने विचार राख्नुभयो ।

सो अवसरमा समितिले सञ्चालन गरेको छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षणका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रशिक्षक एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक पुरुषोत्तम भट्टराईले व्यवहार उपयोगी प्रशिक्षण दिइएकाले प्रशिक्षार्थीले जीवनमा लाभ उठाउन सक्ने बताउनुभयो ।

प्रा मङ्गलदास प्रधानाङ्गले प्रशिक्षणका क्रममा बाटोमात्र देखाउने काम हुने भएकाले शास्त्रीय गहिराइमा पुगी मोती टिप्ने काम प्रशिक्षार्थीकै हुने विचार राख्नुभयो । समितिका सदस्य डा खिलानाथ बस्ताकोटीले अनुसन्धान केन्द्रका रूपमा समिति र अनुसन्धानात्मक कृतिका रूपमा ‘पञ्चाङ्गभास्कर’ लाई अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रशिक्षार्थी शिवप्रसाद खनालले नेपालीमै लेखिएका स्रोत सामग्रीको अभाव भएकाले त्यसतर्फ ध्यान दिन माग गर्नुभयो । प्रशिक्षणमा सहभागी समृद्धि खनालले ज्योतिषीय विषयमा रुचि भएकैले आफू सहभागी भएको जानकारी गराउनुभयो । प्रशिक्षणमा १६ जना सहभागी भएको समितिले जनाएको छ । रासस