‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौं, २० माघ । ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत दशौं चरणको खेलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जावला खेल र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । जावलाखेल तीन जित, तीन बराबरी र तीन हारका साथ १२ अङ्क सहित आठौं स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब भने आठ अङ्क सहित एघारौं स्थानमा छ ।

रेलिगेसनबाट जोगिनका लागि ब्रिगेड ब्वाइजलाई तीन अङ्क महत्वपूर्ण हुनेछ । यस्तै आजै हुने अर्को खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स मैदानमै हुने दोस्रो खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

लिगमा मनाङ मस्र्याङ्दी १९ अङ्क सहित तेस्रो स्थानमा छ । आज जित निकाल्दै मनाङ उपाधिको प्रतिष्पर्धा कायम राख्ने लक्ष्यमा हुनेछ । लिगको शीर्ष स्थानमा रहेको त्रिभूवन आर्मी क्लबको २३ अङ्क छ ।