‘ए’ डिभिजन लिग फुटबल : पुलिसलाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा

‘ए’ डिभिजन लिग फुटबल : पुलिसलाई पराजित गर्दै आर्मी शीर्ष स्थानमा

काठमाडौं, १९ माघ ।  त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरमा आइतबार भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । दशरथ रंगशालामा नवयुग श्रेष्ठले दुई गरेपछि आर्मीले पुलिसविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको हो । यस्तै आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे । पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरे । रोमान्चक खेलमा सुरुवाती अग्रता भने पुलिसले बनाएको थियो । खेलको २० औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए । तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुनस् पुलिसले अग्रता बनायो । खेलको ५८ औं मिनेटमा मानले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए ।खेलको ७७ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २–२ गोलको बराबरीमा ल्याए । ८५ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ४–२ को उत्कृष्ट जित दिलाए । खेलमा नवयुग म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रको २२ अंक रहेको छ । पुलिस १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।