

काठमाडौं, १९ माघ । बिभिन्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक आइतबार सम्पन्न भएको छ । काठमाडौंमा बसेको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै बिभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको हो
बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०७७ को चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले नेता बामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको छ । यस्तै नेपालको सबै वास्तविक भू–भाग समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई विशेष आग्रह गर्ने निर्णय पनि गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न ३ सदस्यीय कार्यदल पनि गठन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक र स्थायी कमिटी सदस्यहरू भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य हुनुहुन्छ । पार्टी पोलिटब्यूरो छिट्टै गठन गर्ने र महाधिवेशनसम्ममा पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकले केन्द्रीय निकायहरूको सांगठनिक एकीकरणसहितका बाँकी काम छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । गुटबन्दी अन्त्यको प्रक्रिया नेतृत्वबाट नै शुरूआत गर्ने विषयलाई नेतृत्वले गम्भीरतापूर्वक लिने प्रतिबद्धता बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकले कोरोना भाइरसको संक्रमणका सम्बन्धमा समेत ध्यान दिएर सचेत रहने र यसलाई संक्रमणको दिशामा जान नदिन सरकारलाई विशेष अनुरोध गर्ने निणूय पनि गरेको ट भने निर्वाचनलाई कम खर्चिलो कसरी बनाउने भन्ने विषयमा देशव्यापी छलफल र बहस गर्ने निष्कर्ष पनि नेकपाले गरेको छ । बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ ।