प्रतिनिधिसभा र राष्ट्रिय सभामा ज्येष्ठ सदस्य को ?

प्रतिनिधिसभा र राष्ट्रिय सभामा ज्येष्ठ सदस्य को ?

राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव प्रतिनिधिसभामा ज्येष्ठ सदस्य बनेका छन् । सर्लाही २ बाट निर्वाचित यादवको उमेर ८० वर्ष रहेको संसद् सचिवालय प्रशासन महाशाखा प्रमुख सहसचिव सुरज दुराले जानकारी दिए । संविधानमा सबैभन्दा ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने प्रावधान छ । प्रतिनिधिसभामा अन्य सदस्यलाई शपथ खुवाउनुपूर्व यादव आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि उनले प्रतिनिधिसभाका दुई सय ७५ सांसदलाई शपथ खुवाउनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष एक सय ६५ र समानुपातिकतर्फ एक सय १० सांसद छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ फागुनमा संघीय संसद्को पहिलो बैठक आह्वान गरेकी छिन् । संसद् बैठक बस्नुपूर्व सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्छ । अहिलेसम्म शपथको समय तय भइनसकेको संसद् सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रिय सभामा दुई जना ६९ वर्षका
राष्ट्रिय सभामा दुई सदस्यको उमेर ६९ वर्ष देखिएपछि को ज्येष्ठ सदस्य भन्ने टुंगो लाग्न सकेको छैन । संसद् सचिवालयका सचिव वीरेन्द्र कार्कीले राष्ट्रिय सभामा दुई सदस्यको उमेर बराबर देखिएपछि बुधबार थप प्रमाण जुटाएर ज्येष्ठ सदस्य को भन्ने कुराको टुंगो लगाउने जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर १ बाट निर्वाचित एमाले सांसद हरिचरण सिवाकोटी र प्रदेश ७ की एमालेकै सांसद तारादेवी भट्टको उमेर ६९ वर्ष देखिएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।