

काठमाडौं, १७ माघ । प्रतिनिधिसभाको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ ।
शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गर्नुभएको हो । त्यस्तै बैठकले कार्यव्यवस्था परामर्श समितिको सदस्यको नाम पनि हेरफेर गरेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।
यस्तै सचिव योगीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल गर्नुभएको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्वास्थ्यमन्त्री भानुक्त ढकालले बिभिन्न निकायको बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्नुभएको शोक प्रस्ताव बैठकले पारित गरेको हो । कार्की २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २१ गते अपराह्न १ बजे बस्नेछ ।